कोरोना खोप लगाउनेलाई मासु फ्रि
Friday, June 25th, 2021, 1:58 pm
Kalpristha
-एजेन्सी
अमेरिकास्थित एक कम्पनीले कोरोना खोप लगाउनका लागि मानिसहरुलाई प्रोत्साहित गर्न यस्तो अफर ल्याएको हो । मासु प्रोसेसिङ गर्ने ब्राजिलियन बहुराष्ट्रिय कम्पनी जेबीएस एसएको अमेरिकास्थित शाखाले बिहीबार यस्तो घोषणा गरेको हो ।
कम्पनीले प्रायोजन गरेका अमेरिकामा रहेका विभिन्न भ्याक्सिनेसन क्लिनिकहरुमा गएर आगामी हप्ताहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरुमध्ये ५० अमेरिकी परिवारले आगामी वर्षभर सित्तैमा मासु पाउनेछन् । कम्पनीले ती परिवारलाई एक वर्षका लागि निःशुल्क रुपमा सुँगुगर, कुखुरा तथा गाईको मासु उपलब्ध गराउने जनाएको छ ।
स्मरण रहोस् गत वर्ष उक्त कम्पनीमा मासु प्याक गर्ने हजारौँ कामदारहरुमा कोरोना भाइरसको संक्रमणदर उच्च देखिएपछि संक्रमण रोक्न केही समयका लागि कारखाना नै बन्द गर्नु परेको थियो । त्यसले अमेरिकामा मासु आपूर्तिमा असहजता आउनुका साथै मासुको मूल्यवृद्धि पनि भएको थियो ।
हाल कम्पनीका अमेरिकास्थित ६६ हजार कर्मचारीमध्ये ७० प्रतिशतले पूणर् खोप प्राप्त गरिसकेको बताइएको छ । खोप लगाउनेहरुलाई सित्तैमा मासु उपलब्ध गराउने अफरले अमेरिकाका विभिन्न ग्रामीण इलकाहरुमा समेत खोपप्रति सचेतना जगाउने र मानिसहरुलाई कोरोना खोप लगाउनका लागि उत्प्रेरित गर्ने विश्वास कम्पनीको छ ।
कम्पनीले आगमी शनिबारदेखि कोलोराडोस्थित ग्रीलीमा आफ्नो पहिलो कोरोना खोप क्लिनिक सुरुवात गर्नेछ । उक्त क्षेत्रमा जेबिएस कम्पनीको एउटा ठूलो गौमांस कारखाना पनि छ । गतवर्ष उक्त कारखानाका झण्डै ३ सय कामदार कोरोना संक्रमित भएर ६ जनाको मृत्यु भएको थियो । स्मरण रहोस् विश्वका कतिपय देशहरुमा जनताहरु खोपका लागि तड्पिरहेको बेला कतिपय देशहरुमा भने जनताले खोप लगाउने इच्छा नगर्नाले खोप खेर जाने अवस्था छ । यस्तोमा विभिन्न मुलुकहरुले खोप लगाएबापत नगद पुरस्कार देखि कुखुरा, गाई, अण्डा तथा गाँजासम्म पुरस्कार दिने अभियानहरु चलाउनु परेको छ ।