कर्णाली प्रदेश सभा बैठक शुक्रबार पनि अवरुद्व
Friday, June 25th, 2021, 7:46 pm
Kalpristha
कालपृष्ठ डेस्क
सुर्खेत, ११ असार
नेकपा एमालेले कर्णाली प्रदेश सभा बैठक शुक्रबार पनि अवरुद्व गरेको छ । आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो ।
माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् ।
सरकारमा सहभागी मन्त्रीहरु गत वैशाख ३ गते पार्टीको ह्वीप विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि मन्त्री बनेका हुन् । फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो ।
जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो ।
यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् । उनीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिएका छन् । जस्ले गर्दा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
एमालेभित्रको आन्तरिक किचलोका कारण प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमाथि छलफल हुन सकेको छैन ।
एमालेको अवरोधकै कारण यसअघि पनि असार ४ गते र ८ गतेको प्रदेश सभा बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो । एमालेको अवरोधका कारण आज बस्न नसकेको बैठक असार १३ गते दिउँसो २ बजेका लागि बोलाइएको छ । तर, एमालेभित्रको किचलो नसुल्झियसम्म संसद् बैठक अझै अनिश्चित नै देखिन्छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार १ गते ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । असार २५ भित्र बजेट पास नगरे कानुनी र कार्यान्वयनगत समस्या आउन सक्ने बताइएको छ ।