भेरी अस्पतालकी नर्स सुनितालाई एक लाखको पुरस्कार
Friday, June 25th, 2021, 9:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ असार
भेरी अस्पतालमा कार्यरत स्टाफ नर्स सुनिता सहकारीलाई यसबर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिने भएको छ । मदन भण्डारी फाउण्डेशनले कोभिडबिरुद्ध खटिएका दुई जना फ्रन्टलाइनरलाई उक्त सम्मान दिनेक्रममा अस्तालको कोभिड आइसीयूमा कार्यरत सहकारी पनि छनौट भएकी हुन् । फाउण्डेशनले एक लाख राशीको सो पुरस्कार नर्स सहकारीसँगै र नेपाल एम्बुलेन्स सर्भिस कीर्तिपुर स्टेशनका एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई दिने निणर्य गरेको छ ।
उक्त पुरस्कार आगामी १४ असारका दिन, जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको सन्दर्भमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने फाउन्डेशनका सचिव पेम्वा लामाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्ति वा संस्थाहरुलाई प्रदान गरिदै आएको यो पुरस्कार यसअघि हाँस्य कलाकार महजोडी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, धुर्मुस सुन्तली फाउन्डेशनल, प्रा. डा. सुवोध शर्मालाई प्रदान गरिएको थियो ।
सम्मानपत्र सहित एक लाख धनराशीको पुरस्कार पाउने स्टाफ नर्स सहकरी नरहरीनाथ गाँउपालिका ४ कालिकोटकी स्थायी बासिन्दा हुन् । उनी २०७६ चैत १६ देखि करारमा नियुक्ती लिई भेरी अस्पतालमा कोभिड आइसीयूमा काम गर्दै आएकी छन् । भेरीमा कोभिड आइसीयूमा काम गर्ने क्रममा उनलाई दुईपटक कोरोना संक्रमण भएको थियो ।
२५ वर्षीया सुनिताले ब्लड क्यान्सरबाट गत माघमा पति गुमाएकी थिइन् । काठमाडौंको पाटन अस्पतालमा उपचारको क्रममा पतिको मृत्युपछि उतै दाहसंस्कार गरेर उनी भेरी अस्पतालमा कोभिको उपचारमा खटिएकी थिइन् ।
फाउण्डेशनद्धारा जारी विज्ञप्तीमा ॅजनस्वास्थ्यको क्षेत्र, विशेषगरी कोभिड-१९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा रही कोभिडबाट संक्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गरेका उनीहरुको योगदानको उच्च मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको’ उल्लेख छ ।
फोटो: स्वास्थ्य पेजबाट साभार