ट्रम्पद्वारा सर्वोच्च अदालतको न्यायाधीशका लागि निल गोर्सच प्रस्तावित
Wednesday, February 1st, 2017, 9:23 am
amit
कोलोराडो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदका लागि कोलोराडो पुनरावेदन अदालतका न्यायाधीश निल गोर्सचलाई प्रस्तावित गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले एन्टोनन् स्कालियाको ठाउँमा गोर्सचलाई प्रस्तावित गर्नुभएको हो । स्कालियाको निधन भएदेखि सर्वोच्च अदालतमा एक पद रिक्त छ । गोर्सचलाई सर्वोच्चको न्यायाधीश बन्नका लागि सिनेटले अनुमोदन गर्नु पर्नेछ ।
तर डेमोक्रयाटिक पार्टीले भने ट्रम्पले प्रस्ताव गरेका गोर्सचको बारेमा निकै गम्भीर दुविधा रहेको बताएको छ ।
अमेरिकी संविधान अनुसार सर्वोच्च अदालतसँग गम्भीर राजनीतिक विषयमा अन्तिम निर्णय दिने अधिकार हुन्छ । अहिले गर्भपतन, लैंगिक अधिकारदेखि बन्दुक नियन्त्रण सम्बन्धी विषय निकै विवाद र चर्चाको विषय छ । ट्रम्पले न्यायाधीश गोर्सच निकै बुद्धिमानी रहेको र उहाँसँग अद्वितिय कानुनी शिक्षा तथा संविधानलाई शाब्दिक रुपमा परिभाषित गर्न सक्ने क्षमता रहेको बताउनुभयो ।
सर्वोच्च अदालतका लागि गोर्सचलाई प्रस्तावित गर्दै राष्ट्रपति ट्रम्पले उहाँसँग उत्कृष्ट दिमाग, असाधारण कानुनी सीप र अनुशासन रहेको दाबी गर्नुभयो ।
समारोहमा गोर्सचले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित हुनु आफ्ना लागि ठूलो सम्मान रहेको उहाँले बताउनुभएको छ ।