चितुवाको छाला समातेको दुई दिन नबित्दै पाटेबाघको छालासहित दुईजना पक्राउ
Thursday, July 1st, 2021, 6:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ असार
बाँके प्रहरीले चितुवको छालासहित दुईजना पक्राउ गरेको दुई दिन नबित्दै फेरि दुईजनालाई पाटेबाघको छालाहित पक्राउ गरेको छ । प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको दुई थान छालासहित मेललेख गाउँपालिका-३, दर्पा अछामका २७ वर्षिय डम्बर बुढा र रामारोसन गाउँपालिका-५, अछामका ३५ वर्षिय नन्दु बुढालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
पाटेबाघको छाला ल्याइरहेको भन्ने विशेष सूचनाका आधारमा बिहिबार दिउँसो अन्दाजी १ः४५ बजेको समयमा बैजनाथ गाउँपालिका वडा नम्बर ४, तिलकपुरस्थित भित्री सडकमा पैदल हिडिरहेका उनीहरुलाई रोकी बोकेको झोला खानतलासी गर्दा उक्त छाला बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालको नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

अन्दाजी ८ देखि १० बर्ष उमेरका र अन्दाजी ७ फिट लम्बाई भएका दुबै बाघहरु भाले जातीका भएको उनले जानकारी दिए । थप अनुसन्धान र आवश्यक कारबाहीका लागि छालासहित उनीहरुलाई डिभिजन वन कार्यालय बाँकेमा पठाइएको छ ।
बाँके प्रहरीले मंगलबार मात्रै दुई जनालाई चितुवाको छाला सहित पक्राउ गरेको थियो । राप्तीसोनारी गाउँपालिका- १ कुसुम बजारबाट दाङ घोराही उप-महानगरपालिका वडा नं. ९ वस्ने सन्तोष कँुवर र दैलखका जितेन्द्र शाहीलाई पक्राउ गरिएको थियो । कुँवरले चलाएको स्कुटरको डिक्कीमा उक्त छाला भेटिएको थियो ।
बाँकेबाट वन्यजन्तुको अखेटापहारसहित तस्करहरु पक्राउ पर्ने क्रम बढेको छ । गत चैत्र ४ गते बाघको छाला सहित ४ जना पक्राउ गरेको बाँके प्रहरीले गत चैत्र ५ गते बाँके प्रहरीले रेड पाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिना सहित ३ जना मानिस पक्राउ गरेको थियो ।
बाँके प्रहरीले गैडाको खाग सहित २ जना मानिस पक्राउ गरेको थियो भने प्रहरीले फागुन १२ गते १० किलोग्रामको हात्तीको दाँतसहित १ जना, माघ ९ गते चितुवाको छाला सहित ३ जना, माघ १४ गते रेड पाण्डाको छाला सहित ३ जना, माघ २८ गते कस्तुरीको बिना र जंगली जनावरको दाँत सहित ५ जना, मानिस पक्राउ गर्यो ।
वन्यजन्तुको अखेटोपहारहरु बाँके हुँदै अन्य जिल्ला लग्न खोज्ने क्रममा र बाँकेमै किनबेच गर्न खोज्दा प्रहरीको फन्दामा पर्ने गरेका बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको भनाई छ ।