गोपीचन्द्रलाई ओलम्पिकबाट हटाइयो
Thursday, July 1st, 2021, 9:45 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १७ असार
नेपालबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पक्का भएका म्याराथन धावक गोपीचन्द्र पार्कीको नाम अन्तिम समयमा काटिएको छ । अब उनले ओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । उनको ठाउँमा १०० मिटर दौडमा प्रतिस्पर्धा गर्न सरस्वती चौधरीले जापान जाने भएकी छन् ।
गत वर्ष नेपालगञ्ज म्याराथन जितेपछि गोपीचन्द्र पार्की टोकियो ओलम्पिक खेल्ने पक्का भएको थियो । गोपीचन्द्रले नेपागन्ज म्याराथनमा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पुरा गरेका थिए ।
बिहीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले संयुक्त विज्ञप्ति जारी गर्दै गोपीचन्द्रको सहभागिता सम्भव नभएको जनाएका छन् ।
एथ्लेटिक्सको अनिवार्य कोटा अन्तर्गत नेपालबाट म्याराथन धावक गोपीचन्द्र चयन भएका थिए । तर म्याराथनमा सहभागीको संख्या धेरै भएको कारण देखाएर नेपालको नाम काटिएको र त्यसको सट्टा १०० मिटर दौडका लागि कोटा दिइएको विज्ञप्तिमा जनाइएको छ ।
‘युनिभर्सिटी प्लेसमार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निणर्य हुने भएकाले म्याराथनको हकमा कोटा भन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभई एथ्लेटिक्स विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भयो’ विज्ञप्तिमा भनिएको छ ।
गोपीचन्द्र पार्कीको नाम युनिभर्सिटी प्लेस अन्तर्गत म्याराथन विधामा सहभागी गराउन लङ लिस्टमा पठाइएको थियो । त्यसै अनुसार पार्कीले तयारीसमेत गरेका थिए । तर अन्तिम समयमा आएर उनी ओलम्पिक खेल्न बञ्चित हुने भएका छन् ।
पार्कीले ओलम्पिक खेल्न जानुअघि प्रतिस्पर्धा गर्न नपाउने सूचना पाउँदा आफू अचम्ममा परेको बताए । ‘अब म खेल्न नजाने भएँ । अर्को एक जना बहिनी जाने भइन् । ध्रुवसत्य यही हो । यसलाई कोट्याएर हुने केही छैन’ पार्कीले निराशा व्यक्त गरे ।
ओलम्पिकका लागि आफूले धेरै तयारी गरेको भन्दै उनले सन् २०१२ देखि ओलम्पिकका लागि गरेको प्रयास यस पटक पनि सफल नभएको बताए । ‘अब अर्को पटक पनि प्रयास गर्नेछु’ उनले भने ।
सन् २०२४ को ओलम्पिक फ्रान्समा आयोजना हुँदैछ । त्यसका लागि पनि पार्कीले प्रयास गर्नेछन् । त्यो बेला पार्कीको प्रयासको १२ वर्ष पुग्नेछ ।
१३औं सागमा ५ हजार मिटरमा स्वणर् पदक जितेका पार्कीले त्यसपछि म्याराथन लेजेण्ड वैकुण्ठ मानन्धरको कीर्तिमान तोड्ने लक्ष्य रहेको बताएका थिए । मानन्धरले सन् १९८७ मा भएको तेस्रो साउथ एसियन गेम्समा राखेको २ घण्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।