पर्वको दिन परीक्षा राखिएको भन्दै मुस्लिम समुदायको आपत्ति
Thursday, July 1st, 2021, 10:41 pm
Kalpristha
समीर अली बेहना
नेपालगन्ज, १७ असार
त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा मुस्लिम समुदायको इदुल अजाह पर्वको दिन राखेको भन्दै मुस्लिम समुदायका विद्यार्थी तथा अगुवाहरुले आपत्ति जनाएका छन् । सार्वजनिक गरिएको सूचनामा बिबिएस, बिबिए , बिएससिको परीक्षा मुस्लिम समुदायको महान पर्व इदुल अजहाको दिन तोकिएको छ ।
त्रिभुवन विश्वविद्यालयले श्रावण ५ गतेदेखि बिएससी दोस्रो बर्ष, बिबिएस दोस्रो वर्ष र बिए दोस्रो वर्षको परीक्षा लिने तालिका सार्वजनिक गरेको छ । साउन ६ गते मुस्लिम समुदायको दोस्रो ठुलो चाड इद-उल-अजहाको दिन समेत ३ वटै संकायको परीक्षा राखिएको छ ।
नेपाल वल्मा काउन्सिल बाँके तथा बर्दियाका संयोजक मुफ्ती मोहम्मद कैफुल्वरा खानले पर्वकै दिन परीक्षा राख्नु र मुस्लिम समुदायको महान पर्वहरुमा सार्बजनिक विदा कटौती गर्नु चिन्ताजनक विषय भएको बताइन् । मुस्लिम समुदायका पर्व ईदुल फित्र, ईदुल अजहा र ईदे मिलादुन नबिको सार्वजनिक विदा कटौती गरी सरकारले धर्म निरपेक्षताको उल्लंघन गरेको उनको आरोप छ ।
नेपालगन्ज मुस्लिम समाज संस्था बाँकेका महासचिव तथा नेपाल मुस्लिम आयोगको केन्द्रिय सदस्य मेराज अहमद हल्वाइले नेपाल सरकारले मुस्लिम समुदायको महान पर्व कटौती गरेर चित्त दुखाउने काम गरेको बताए । ‘त्यसैमाथि परीक्षा तालिका नै पर्वलाई वेवास्ता गरेर तय गरिनु झन् दुःखद हो,’ उनले भने । विश्वविद्यालयले तालिका हेरफेर गरेर मुस्लिम समुदायको भावनाको सम्मान गर्नुपर्ने हल्वाइले बताएका छन् ।

