निबन्ध : नेपालगन्ज
Saturday, July 3rd, 2021, 3:12 pm
Kalpristha
–मणि अर्याल
साँच्चै भनूँ,
म भित्रको मनोविज्ञान त्यतिबेलाबाटै सहित्यतर्फ उन्मुख भयो जतिबेलाबाट म नेपालगन्जको साहित्यसँग परिचित हुन थालेँ । उसो त मभित्रको अवचेतन मनको वेगले बालपनसँगै साहित्यिक रागलाई स्पर्श गरिसकेको रहेछ । सोही स्पर्श आज चेतन मनबाट सार्वजनिक गर्दैछु ।
…..
नेपालगन्ज मेरो साहित्यिक गतिविधिको जन्मथलो मात्र होइन कर्मथलो पनि हो । साहित्यका अग्रज, समकालीन एवं अनुजहरुसँगको उठबस, तिनका सिर्जना एवं समीक्षाको भावभूमिमा डुबुल्किँदै आज यो अवस्थामा आइपुगेको छु । हाम्रो वरपरको वातावरणले हामीलाई धेरथोर उत्प्रेरणा दिइरहेको हुन्छ । यस अर्थमा मैले न त नेपालगन्जको साहित्यिक वातावरणलाई बिर्सन सक्छु, न त नेपालगन्जका साहित्यिक मित्रहरुलाई ।
साहित्यकारसँग भेट्नका लागि कुनै बहाना वा कार्यक्रमको मेलोमेसो मिल्नुपर्छ । नत्र अहिलको व्यस्त समयमाकसलाई पो फुर्सत हुन्छ र? कि भेट्नका लागि ठूलै काम गर्नुपर्छ, कि त साहित्यिक कार्यक्रमको मेलोमेसो । नेपालगन्जमा साहित्यिक कार्यक्रम गर्नका लागि संस्थाको कर्मी छैन । नेपालगन्ज भनिरहँदा केवल नेपालगन्ज मात्र भनिरहेको छैन । कोहलपुर, खजुरा, बर्दियाका सीमावर्ती क्षेत्र, बाँसगढी, मैनापोखरसम्मलाई समग्रमा लिएको छु ।
नेपालगन्ज बाहिर नेपालगन्जको परिचय नेपालगन्जमा मात्रै सिमित छैन । अझ विशेषगरी काठमाडौँले नेपालगन्ज भन्नेबित्तिकै कोहलपुर, खजुरा र बाँसगढीलाई समेत चिन्ने गर्दछ । यही सेरोफेरोमा साहित्य नै नेपालगन्जको साहित्य हो भन्दा अनुपयुक्त नहोला । त्यसो त नेपालगन्जलाई हरेक दृष्टिले चिनाएको केवल नेपालगन्जको सीमित चौघेराले मात्रै हैन । नेपालगन्जलाई नेपालगन्ज बनाउनमा बाहिरबाट आएर विभिन्न पेसा-व्यवसायसँग आबद्ध रही अस्थायी बसोबास गर्नेमित्रहरुको पनि उत्तिकै योगदान छ । यसलाई नेपालगन्जले बिर्सन मिल्दैन । कोहलपुर, खजुरा र बाहिरबाट आएर बसेकाहरुलाई अलग गरिदिने हो भने नेपालगन्ज अधुरो हुन्छ । रित्तो हुन्छ भन्दा पनि अतिशयोक्ति नहोला ।
नेपालगन्जमा अवधि साहित्य, मुस्लिम साहित्यको आफ्नै परम्परा छ । यो नेपालगन्जको मैलिक विशेषता हो ।नेपाली साहित्यको विविधतामा नेपालगन्जको अवधी साहित्य र मुस्लिम साहित्यले ठूलो योगदान दिएको छ । यसलाई हामी बिर्सन सक्दैनौँ । यहाँ हुने साहित्यिक कार्यक्रमका ब्यानरमा बहरभाषिक कविगोष्ठी वाबहुभाषिक साहित्यिक कार्यक्रम लेखिएको हुन्छ । यो भाषिक एकताले बदलिँदो राजनीतिक परिदृश्यमा मलम पट्टि थप्ने काम गरेको छ ।
साहित्यका विविधि पाटाहरु जोडिएर नेपालगन्जको समग्रसाहित्य बनेको छ । यस अर्थमा नेपालगन्जको माटोमा रहेर सिर्जना कर्ममा समर्पित सर्जकका बारेमा धेरथोर चर्चा गर्नु उचित देख्दछु ।
मैले पुराना साहित्यकार तिर्थमान पटवारी, इन्द्रमणी मानव, वि. विकास श्रेष्ठलाई त देख्न पाइँन । यद्धपि तिनका कर्मका बारेमा प्रशस्तै कुराहरु सुनेको छु । केही अध्ययन पनि गरेको छु । मरणेपरान्त परिवारमार्फत् ती स्रष्टाको सम्मान पनि गरेको पनि देखेको छु । हामीहरु आफैँ सहभागी भएर पनि मरणोपरान्त सम्मान गरेका छौँ । सत्कर्म गर्नेहरु समाजमा कहिल्यै मर्दैनन् । जति-जति समय बित्दै जान्छ उति-उति उनीहरुको योगदानको खोजी र मूल्याङ्कन हुँदै जान्छ ।
संसारमा धेरै मान्छे जन्मन्छन्, मर्छन् । तर ती सबै सधैँभरी चर्चाको पात्र बन्दैनन् । तिनको अभिलेख रहँदैन । आफू र आफ्नो परिवारके लागि मात्र कर्म गर्नेहरुको जीवन एकबारको हुन्छ । यद्यपि समाजका लागि कर्म गर्नेहरुको जीवनको कुनै तुलना हुँदैन । जसले आफ्नो जीवनमा लागि सत्कर्म गरेको छ ऊ कहिल्यै मर्दैन । उसको भौतिक शरीर नष्ट भएर गए पनि ऊ आफ्ना कर्ममार्फत् अमर रहिरहन्छ । उसले आफ्नो जीवन सार्थक बनाउन पुनर्जन्म लिनुपर्दैन । अब फेरि भानुभक्त, देवकोटा, सम, पारिजातले जन्म लिनु पर्दैन । यस्ता सयौँ हजारौँ महामानवहरुले आफ्नो छोटो जीवनकाल सार्थक बनाएर गएका छन् । उनीहरुलाई त्यहीएउटाजीवन नै पर्याप्त बन्यो । जसलाई युगले सदा-सर्वदा स्मरण गरिरहनेछ ।
…………….
नेपालगन्जको साहित्यलाई केलाउँदै गर्दा भावनाले कर्मतर्फ डोर्याएको पत्तै पाइएन । नेपालगन्जलाई गीतसङ्गीतले जोड्ने काम प्रेमप्रकाश मल्लले गरे । लेखन गायन आदि क्षेत्रबाट मल्लले पुर्याएको योगदानलाई बिर्सने हो भने नेपालगन्जको कलाक्षेत्र अधुरो नै रहन्छ । हाल अन्यत्रै रहेका नन्दराम लम्साल छन्द कवि, कथाकार, उपन्यासकार हुन् । सिर्जनाका दृष्टिले लम्साल प्रगतिवादी र बहुमुखी सर्जक हुन् । नेपालगन्जसँगै जोडिने नाम हो-सनत रेग्मी । जसले नेपालगन्ज र राजधानी अर्थात् केन्द्रलाई जोड्ने पुलको काम गरे । उनी एउटा प्रतिनिधि चरित्र हुन् । यस्ता चरित्र थुप्रै छन् । जसले नेपालगन्जको साहित्यलाई राष्ट्रिय साहित्यमा विशेष योगदान दिएका छन् । मान्छेले मूल्याङ्कन आफैँ गर्नु उचित होइन । तर अहिले गरेको मुल्याङ्कनबाट केही हदसम्म सन्तुष्ट रहनु र अझै गर्नुपर्छ भन्ने सोच राख्नु राम्रो कुरा हो । मान्छेले जति सक्छ त्यति नै गर्ने हो । जे जानेको छ त्यही गर्ने हो । जे सिकेको छ त्यही नै सिकाउने हो । नेपालगन्जको साहित्यलाई गति दिन र नयाँ पुस्तालाई प्रेरणा दिने काममा रेग्मीको सक्रियता अतुलनीय छ । सनत रेग्मीसँगै हामीले बिर्सन नहुने अर्को नाम हो, प्रेमप्रकाश मल्ल । लेखन, गायन आदि क्षेत्रबाट मल्लले पुर्याएको योगदानलाई हामीले बिर्सने हो भने नेपालगन्जको कलाक्षेत्र अधुरो नै रहन्छ ।
………………………
प्रगतिवादी साहित्यको कोणबाट नेपालगन्जमा सक्रिय अर्का प्यक्ति हुन्, प्रा.डा. गोपाल अधिकारी । प्रगतिवादी धारमा रहेर जुन योगदान अधिकारीले सृजना र समालोचनामा गरेका छन्, त्यसको कदर सायदै हामीले गर्न सकेका र्छौँ । मेरो लागि अधिकारी प्रेरणाका स्रोत हुन् । म आफैँ पनि कयन् कुरा लिनबाट टाढा भएझैँ लाग्छ । शनैः शनैः यसलाई अद्यावधिक गर्ने यत्नमा छु ।
सिर्जन लम्साल । जागिरे जीवनको जस्तो सक्रिय भूमिका साहित्यिक योगदानमा हुन सक्ने हो भने लम्सालबाट नेपालगन्ज थप धन्य हुनेछ भन्ने मेरो ठम्याइ हो ।
किरण दिदीको सक्रियता पनि पछिल्लो समय कछुवा गतिमा हिँडिरहेको हो कि भन्ने ठान्दछु । उनको जीवनका आरोह अवरोह साहित्यका माध्यमबाट आउने हो भने अनुज पुस्ताले धेरै मार्गदर्शन पाउने अवश्य थियो ।
नेपालगन्जमा उर्दू गजललाई स्थापित गर्न मोहम्मद आरिफको अग्रणी भूमिका छ । उर्दू गजलकार अब्दुल लतिफ शौक जीवनको उत्तराद्र्धमा पानी कुटे लौरो टेकेर आफ्नो सिर्जनात्मक ऊर्जालाई देखाइरहेका छन् । उनलाई हेर्दा मनमा गर्वको अनुभूति हुन्छ । चारबीस नेटो काट्दा पनि उनीभित्रको युवावय उत्तिकै क्रियाशील छ । मानौँ साहित्यको चौकीदारी उनलाई नै नेपालगन्जले थमाइदिएको छ । उनको यो ऊर्जा सदैव हरितगृह बनेर फैलिरहोस् ।
उनीसँगै सत्रिय मो. अमिन खयाली र मुस्तफा अहसन कुरैसी उर्दू साहित्यमा अग्रणी व्यक्ति हुन् ।
विष्णुलाल कुमाल । जो आफैँमा मनोशारीरिक रुपमा सक्रिय छन् । यद्यपि रेडियोतिर गएर आवाज र सिर्जनामार्फत उद्घोष गर्छन् । उनको उपस्थिति नेपालगन्जको साहित्यको ऊर्जा हो ।
शौकसाब, सचिदानन्द चौबे, कुमाल, मुस्तफा अहसन कुरैसीजस्ता व्यक्तित्वले नेपालगन्जको मुस्लिम एवं अवधि साहित्यलाई सक्रिय तुल्याउन महत्वपूणर् योगदान दिएका छन् । जसको कर्म, वचन र प्रेरणाले यहाँको माटोलाई मात्र होइन सिङ्गो नेपाली साहित्यको श्रीवृद्धि गरिरहेको छ ।
……………………
चर्चामा आइरहने प्रतिभाशाली साहित्यकार खगेन्द्र गिरी कोपिलाको आफ्नै व्यक्तित्व छ । उनले नेपालगन्जमा आएर नयाँ गजल सर्जकलाई जन्माउन र हुर्काउनमा महत्वपूणर् भूमिका खेलेका छन् ।
आख्यानमा कैयन् पाठकको ढुकढकी बन्न सफल नयनराज पाण्डे । नयनले नेपालगन्ज छाडेर काठमाडौंलाई केन्द्र बनाए पनि उनको साहित्य यात्राको प्रारम्भ नेपालगन्जकै माटोमा भएको हो । यसर्थ उनलाई नेपालगन्जले चाहेर पनि भुल्न सक्दैन ।
साहित्य होस् या अन्य । निन्तरता ठूलो कुरा हो । निरन्तरताले नै मान्छेलाई खार्दछ र खासगरी उसको प्रतिभालाई । यद्यपि हामीकहाँ केही समय देखा परेर चमत्कार गरेझैँ गर्ने र क्षणैमा लोप हुने प्रवृत्तिले साहित्यामा पनि असर गरिरहेको छ । पुरानो विश्थापित हुने र नयाँस्थापित हुने क्रम जारी नै छ । यो युगको माग र सम्बोधन दुवै हो । यद्यपि कर्मको मूल्याङ्कन गरिनुपर्छ ।
नेपालगन्जको भेरी साहित्य समाजलाई जन्माएर एउटा उचाइमा पुर्याएका नारायण गैरे, जसलाई म सम्झिरहन्छु । उनी नेपालगन्ज रहँदा सक्रिय ढंगबाट काम गर्थे । उनको नेतृत्व क्षमता होस् या त सहकार्य सन्दर्भ दुवै लोभलाग्दो थियो ।
नेपालगन्जले जन्माएको अर्को प्रतिभा हो, रेशम विरही । कविता र निबन्धलाई आफ्नो प्रिय विधा ठान्ने उनी पछिल्लो समय प्रेमदासको डायरी उपन्यासबाट पाठकबिच रमाइरहेका छन् । यद्यपि उनको बसाइ चितवन केन्द्रित छ ।
प्रयास समुहलाई जन्माएर छाडेका नरेन्द्रजङ्ग पिटर नेपाली साहित्यका चर्चित लेखक हुन् । उनले नोलगन्जको साहित्यलाई पुर्याएको योगदानलाई हामीले भुल्नु हुँदैन । समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ, त्यो समयले निर्धारण गर्दछ । यद्यपि व्यक्तिले क्षणिक समय नै किन नहोस् राम्रो काम गरेर जान्छ भने सम्झनु पर्दछ ।
…………………
हिजो आज नेपालगन्जको साहित्यलाई सक्रियरुपमा अगाडि बढाउन रसाहित्यिक संस्थाका माध्यमबाट नयाँपुस्तालाई मन्च प्रदान गर्न हरि तिमिल्सिना, इन्द्रबहादुर भण्डारी इन्द्रेणी र महानन्द ढकालजस्ता व्यक्तिको सक्रिय भूमिका देखिन्छ । यिनीहरु आफैँमा कुशल सर्जक हुनुका साथै कुशल नेतृत्वकर्ता हुन् । नेपालगन्जको साहित्येतिहासमा यस्ता प्रतिभाको नाम स्वणर् अक्षरमा लेखिनेछ । यो सत्यलाई हामीले नकार्न सक्दैनौँ । सागर गैरे पनि यसै भिडमा अर्का साक्ष्य हुन् जसको क्रियाशिलता पनि उत्तिकै प्रशंसनीय छ ।
पुरुष सर्जकको चर्चा गरिरँदा महिला सर्जकलाई बिर्सिएको हो कि भन्ने लाग्न सक्छ । यहाँ महिला साहित्यकारको पनि कमी छैन । ऋचा लुइटेलको गजल लेखन र नेपाली आधुनिक कविताको इतिहासमा आफैँमा विशिष्ट खालको छ । यसैगरी नन्दराम लम्साल, हरि तिमिल्सिनापछि यन्द्रराज पौडेलसँगै छन्दोबद्ध कविताका माध्यमबाट काव्यसाहित्यलाई माथि लैजानमा चरित्रा शाहलाई सम्झनु पर्दछ । आख्यानको माध्यमबाट सक्रिय सुमित्रा न्यौपाने, गजलका माध्यमबाट देवकी निरौला, युगज्योति क्रियाशिल, नमिता बराल आदिले देखाएको सक्रियताले यहाँको समग्र साहित्यलाई माथि उठाउन मद्धत गरेको छ ।
नेपालगन्ज र यस वरिपरिका सबै सर्जकलाई समेट्ने हो भने सिङ्गो किताब तयार हुन्छ । विवरणात्मक सूचि प्रस्तुत गरेर मैले मेरो विषयलाई मोड्न चाहन्न । यो नेपालगन्जलाई चिनाउने एउटा सानो प्रयास हो ।
कविता र समालोचनाका माध्यमबाट सक्रिय ईश्वरीप्रसाद रिजाल उल्कापात, हरि सुवेदी, शशिराम कार्की, ओम राना क्षेत्री, भरतबहादुर रानाभाट, कपिल अन्जान, पंकज श्रेष्ठ, लेकप्रसाद प्याकुरेल आदि प्रतिभाले नेपालगन्जलाई उज्यालो बनाएका छन् ।
पूणर्लाल चुके र झलक गैरे जसले पत्रकारितालाई मात्र आफ्नो कार्यक्षेत्र बनाएनन् । उत्तिकै साहित्यलाई पनि माया गरिरहे ।
लेख्नुपर्ने थुप्रै छन् । भन्नुपर्ने थुपै्र छन् । राम्रा-नराम्रा, आरोह-अवरोहलाई पर्गेल्न सक्नु वास्तविक नेपालगन्जको साहित्यलाई चिन्नु र चिनाउनु हो । नेपालगन्जलाई उपर्युक्त व्यक्तिले मात्र होइन पर्दाबाहिर र भित्रका थुप्रै सर्जक, शुभचिन्तकले योगदान दिएका छन् । नेपालगन्जलाई स्पर्श गरेर जो जहाँपुगेका छौँ, मन-वचन-कर्मले सक्रिय बन्न सकौँ । मेरो भूमि भन्न सकौँ । बाँकी अर्को यात्रामा ।
-‘कुटी’ निबन्ध संग्रहबाट साभार