खजुराले शिक्षकलाई दियो वैकल्पिक प्रणालीसम्बन्धि तालिम
Saturday, July 3rd, 2021, 5:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १९ असार
खजुरा गाउँपालिकाले शिक्षकहरुलाई वैकल्पिक प्रणालीबाट शिक्षणसम्बन्धित तालिम दिएको छ । कोरोना सृजित परिस्थिति र प्रविधिको प्रयोगको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर गाउँपालिकाले शिक्षण सिकाइमा वैकल्पिक प्रणालीमा जोड दिइरहेको छ । सोहीअनुरुप आगामी शैक्षिक सत्रबाट वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्न सामुदायिक, संस्थागत र मदरसा शिक्षकहरुलाई एकीकृत शैक्षिक सूचना सन्चार प्रविधी सम्बन्धी क्षमता विकास तालिम दिइएको हो ।
असार १३ गतेबाट सुरु भएको तालिम १९ गते शनिबार समापन भएको छ । कार्यक्रममा सहभागी शिक्षकहरुले शिक्षणमा वैकल्पिक विधिको प्रयाग गर्न आफूहरु तयार रहेको बताएका छन् । गाउँपालिकाको अभियानमा आफूहरु दृढतापूर्वक साथ दिने उनीहरुको भनाई छ । गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति आगामी शैक्षिक सत्रमा वैकल्पिक प्रणाली प्रयोग गर्न गाउँपालिका सक्षम हुने विश्वास व्यक्त गर्छन् । ॅअभियानलाई कार्यान्वयन गर्न सरोकारवालाहरु, शिक्षक अभिभावक,विद्यार्थी, व्यवस्थापन समिति, पिटिए सबैलाई विनम्रताका साथ अनुरोध गर्दछु,’ कक्षपतिले आफ्नो फेसबुकमा लेखेका छन् ।
वैकल्पिक अर्थात आइसिटी विधिबाट पठनपाठन गर्नका लागि निर्वाचित भएलगतै कार्यपालिकाको पहिलो बैठकले निणर्य गरेर शुरु गरेको कक्षतिले कालपृष्ठसँगको कुराकानीमा बताएका छन् । अध्यक्ष कक्षपतिले शिक्षा क्षेत्रमा खजुराले ठूलो लगानी गरेको बताउँदै कोभिडबाट प्रभावित भएकोले वैकल्पिक प्रणाली लागू गरेको बताए । उनले यो विधिलाई कार्यान्वयन गर्नको लागि करीब ५९ लाख रुपैयाँ छुट्टाइएको बताए ।
अहिलेको संकट लामो जाने संकेत देखिएपछि कोभिडबिरुद्धको खोप माग गरिएको बताउँदै उनले नयाँ शैक्षिकसत्रमा आइसिटी विधिको प्रयोग गर्नका लागि नेट, इन्टरनेट नभएका विद्यालयलाई सहयोग गरिने उल्लेख गरे । अध्यक्ष कक्षपतिले संकल्प गरे सबै कुरा सम्भव हुने भन्दै इच्छा शक्ति राखेर शिक्षकहरुले वैकल्पिक विधिलाई सफल बनाउनु पर्ने बताए । २१ करोड सशर्त बाहेक २ करोड २१ लाख गाउँपालिकाले विननियोजन गरेकोले शिक्षामा बजेटको कमी नभएको उनले उल्लेख गरे ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले ६५ विद्यालयका १७ हजार विद्यार्थीमा वैकल्पिक कक्षाले सकारात्मक सन्देश प्रभाव हुने विश्वास व्यक्त गरे ।