पर्सा र रौतहटमा बाढीको बितण्डा
Sunday, July 4th, 2021, 7:13 am
Kalpristha
कालपृष्ठ डेस्क
पर्साको सिर्सिया खोलाको बाढी आएका छ । बाढीले पर्साका बस्ती डुबानमा परेका छन् । सिर्सिया किनारका रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँवस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका छन् । रानीघाट क्षेत्रमा कम्मरसम्म डुब्ने पानी छ । अन्न, लत्ताकपडा पानीमा डुब्दा स्थानीयको बिजोक छ । उनीहरु आफन्तको घरमा बसेका छन् । डुबानमा परेको रानीघाट क्षेत्रबाट ३१ घरधुरीका ८४ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले शनिबार साँझ उद्धार गरेको छ । ४७ जना पुरुष, २२ जना महिला र १५ जना बालबालिकालाई उद्धार गरेको प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश गौतमले जानकारी दिए ।
रौतहटका दुई दर्जन भन्दा बढी गाउँ जोखिममा
अविरल वर्षापछि रौतहटका दुई दर्जन भन्दा बढी गाउँ बाढीको जोखिममा परेका छन् । चुरे तथा पहाडी क्षेत्रमा अविरल बर्षापछि बाग्मती, लाल बकैया नदी तथा झाँझ खोलामा आएका बाढी बस्तीमा पसेपछि गाउँलेहरु विस्थापित भएका छन् ।
लाल बकैया नदी र झाँझ खोलामा आएको बाढीका कारण सदरमुकाम गौरमा घरहरु डुबानमा परेका छन् । गौरको बरहवा ताल आसपासको क्षेत्रका घर तथा सडकमा बाढीको पानी बढ्ने क्रममा रहेको छ । गौर नगरपालिकाको वडा नं. १ र २ भन्सार क्षेत्रको बस्ती बाढी पस्न थालेको छ । गौर चन्द्रपुर सडकखण्डको सबगढामा रहेको लच्कामा पानीको बहाव तीव्र रहेको छ ।
रौतहटको ईशनाथ नगरपालिकाको १, २, ३ र ९ नम्बर वडा डुबानमा परेको छ भने राजदेवी नगरपालिका- ९ तथा दुर्गा भगवती गाउँपालिका- ५, ७ र ८ नम्बरका घरमा बाढीको पानी पसेको उपरीक्षक शिद्धिबिक्रम शाहले बताए । दुर्गा भगवती गाउँपालिकाको बाग्मती नदीको बाँध नजिकै भएको बस्तीका करीब दुई सय परिवार विस्थापित भएका छन् । उनीहरु बाँधमा पाल राखेर बसेका छन् । गढीमाई नगरपालिका- ९ सिंगारमनमा रहेको पुल र स्परमा बाढीले क्षति पुर्याएको छ । इशनाथ नगरपालिकाको बन्जरहामा ३० परिवार विस्थापित भएका छन ।
राजदेवी नगरपालिकामा बाग्मती नदीको १ र २ नम्बर स्परमा कटान हुन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बाँधको स्पर मर्मत गरिरहेका छन् । झाँझ खोलामा आएको बाढीले मत्सरीमा रहेको नहर फुटाए पनि सो स्थानमा पनि सुरक्षाकर्मी र स्थानीय वासिन्दाले मर्मत गरिरहेको एसपी शाहले बताए ।