विधेयक पुनर्लेखन गर्न पत्रकार महासंघ बाँकेको माग
Sunday, July 4th, 2021, 3:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असार
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पठाएको ॅसञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनर्लेखन गर्न पत्रकार महासंघ बाँके शाखाले माग गरेको छ । शाखाले आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत् लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । शाखा अध्यक्ष दामोदर भण्डारीको नेतृत्वमा पुगेको पत्रकारहरुको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
उक्त अवसरमा महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषि चौलागाईंले विधेयकको प्रस्तावनादेखि अधिकांश धारा उपधारामा सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई दण्ड जरिवानादेखि जेल सजायसम्मको प्रावधान राखिएकोमा आपत्ति जनाए । उनले विधेयक तत्काल फिर्ता लिई पुनर्लेखन गर्न माग गरे ।
महासंघ बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अलि, सल्लाहकार डक्ट धिताल, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले मिडिया र मिडियाकर्मीहरुमाथि दुराशयपूणर्रुपले कानुनी डण्डा चलाउने सोच विधेयकमा प्रष्ट झल्किएको भन्दै तत्काल फिर्ता लिएर पुनर्लेखन गर्न माग गरे ।
अध्यक्ष भण्डारीले विधेयक प्रदेशसभाबाट फिर्ता गरेर पुनर्लेखनको वातावरण मिलाउन माग गर्दै यो ज्ञापन बुझाइएको जानकारी गराउँदै माग सम्बोधन नभए आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिए ।
सोही अवसरमा बाँकेका सबै पत्रकारहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन पनि माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालसँग भण्डारीले कोभिड बिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर काम गरेका पत्रकारहरुलाई सहजरुपमा खोप उपलब्ध गराउन माग गरेका थिए । त्यसक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले फ्रन्टलाइनर तथा सबै नेपालीलाई खोप उपलब्ध गराउने तर्फ आफुहरु संवेदनशिल भएको बताउँदै महासंघको मागप्रति ध्यानार्कषण भएको बताएका थिए ।