साउन अन्तिममा कक्षा १२ को परीक्षा हुने
Sunday, July 4th, 2021, 9:02 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २० असार
कक्षा १२ को परीक्षा साउन अन्तिम सातामा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट संचालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको हो । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ ।
बोर्डका अनुसार परीक्षा संचालनका लागि सरकारले अनुमति दिएलगत्तै परीक्षाको प्रक्रिया अगाडि बढाउने भएको हो । साथै बोर्डले विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा संचालन गर्न नसकिने जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बोर्डका प्रस्तावमा छलफल गरेर मात्रै निणर्य हुने उल्लेख गर्दै त्यसका लागि केही दिन लाग्न सक्ने बताए । कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने सम्भावना बढेको छ ।
कोरोना भाइरसको संक्रमण कम भए पनि पूरै नघटेकाले अर्को विद्यालयमा परीक्षा दिन जान सक्ने अवस्था भने नरहेको सरकारी अधिकारीहरूले बताएका छन् । शिक्षा मन्त्रालयका सहसचिव शर्माले अर्को विद्यालयमा परीक्षा दिलाउने कुरामा समस्या पर्न सक्ने आकलन आफूहरूले गरेको उल्लेख गर्दै यस विषयमा पछि निणर्य हुने बताए ।