अदालतको निरीक्षणमा डुडुवाको न्यायिक समिति उत्कृष्ट
Tuesday, July 6th, 2021, 8:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, २२ असार
बाँकेका स्थानीय न्यायिक समितिहरुमध्ये डुडुवा गाउँपालिकाको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ । न्यायिक समितिहरुको कामकारबाही, प्रक्रिया तथा सेवालाई थप गणस्तरीय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले गरेको निरीक्षणमा डुडुवाको न्यायिक समिति उत्कृष्ट पाइएको हो ।
जिल्ला न्यायधिससहितको टोलीले मंगलबार डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण तथा छलफल गरेको थियो । गाउँपालिका अन्र्तगत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निणर्य र फैसला लगायत विभिन्न प्रक्रियाका बारेमा उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शाहिदा बानोले जानकारी गराएकी थिइन् ।
त्यस अवसरमा जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुषालले न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुदा दर्ता, मिसिल, निवेदनका ढाँचा, मुद्दाका विषयलगायत विभिन्न अदालती प्रक्रियाका बारेमा जानकारी दिएका थिए । न्यायाधीश भुषालले न्यायिक सम्पादनका क्रममा उत्पन्न विभिन्न समस्या समाधान गर्न कुनै पनि समस्या आइपरेमा जिल्ला अदालत जहिले पनि तयार रहेको आश्वासन दिदै न्यायिक समितिलाई अदालतका कामकारबाही प्रक्रियाका बारेमा आएर जानकारी लिन समेत आग्रह गरे ।
त्यस क्रममा अदालतको अनुगमन टोलीले विभिन्न न्यायिक समितिका पदाधिकारीहरुलाई अदालती प्रक्रिया र अभिलखीकरणका बारेमा आवश्यक जानकारी पनि गराएको थियो । भेटघाटमा न्यायिक समिति सदस्य रिता परियार, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, कानूनी सल्लाहकार अधिवक्ता इश्वरी प्रसाद ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
निरीक्षण टोलीमा अदालतका श्रेस्तेदार तिर्थराज भट्ट, शाखा अधिकृत गणेश रिजाल र गणेश प्रसाद भट्ट र नासु देवेन्द्र देवकोटाको पनि सहभागिता थियो भने टोलीले समितिमा रहेका विभिन्न अभिलेखीकरण गरिएका फाइल, मिसिल, रजिस्टर समेत अध्ययन गरेको थियो । अध्ययनका क्रममा जिल्लाका अन्य स्थानीय तहहरु भन्दा डुडुवाको अभिलेखीकरणको व्यवस्थापनको कार्य उत्कृष्ट, चुस्त र प्रक्रियागत रहेको पाइएको न्यायाधीस भुषालले बताए । निरीक्षणपछि अदालतले प्रतिवेदन समेत तयार गर्ने जनाएको छ ।