कोपा अमेरिकामा दुई महाशक्ति अर्जेन्टिना र ब्राजिलबीच भिडन्त हुने
Wednesday, July 7th, 2021, 8:00 am
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २३ असार
कोपा अमेरिका २०२१ को उपाधि लागि दक्षिण अमेरिकी फुटबलका दुई महाशक्ति अर्जेन्टिना र ब्राजिलबीच भिडन्त हुने भएको छ । अर्जेन्टिनाले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई बुधबार टाइब्रेकरमा ३-२ हराएसँगै दुई महाशक्तीको भिडन्त पक्का भएको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।
अर्जेन्टिनाको जितमा गोलरक्षक एमिलानो मार्टिनेजले कोलम्बियाका तीन प्रहार रोकेका थिए । यो जितपछि विश्व फुटबलका सबैभन्दा ठूला स्टारमध्ये एक रहेका लियोनल मेसीको आफ्नो देशका लागि उपाधि जित्ने सपना कायम रहेको छ । ब्राजिलविरुद्धको फाइनल आइतबार हुनेछ ।
यसअघि डिफेन्डिङ च्याम्पियन तथा आयोजक ब्राजिलले पेरुलाई पहिलो सेमिफाइनलमा हराएको थियो । दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले सातौं मिनेटमा लउटारो मार्टिनेजको गोलका अग्रता लिएको थियो । यसका लागि लियोनल मेसीले अवसर मिलाइदिएका थिए। एक गोलले पछाडि रहेको स्थितिमा कोलम्बियाले अर्जेन्टिनामाथि चर्को दबाब सिर्जना गरेको थियो ।
यसै क्रममा कोलम्बियाका लागि लुइस डियाजले ६१ औं मिनेटमा बराबरी गोल फर्काए । यो उनको उत्कृष्ट व्यक्तिगत गोल रह्यो । निर्धारित ९० मिनेटको खेलपछि प्रतिस्पर्धा सिधै पेनाल्टीमा गएको थियो ।