‘अब जसरी पनि साइकल सिक्छु’
Wednesday, July 7th, 2021, 6:28 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, २३ असार
नेपालगन्ज उप-महानगपालिका-३ की स्वास्थ्य स्वयंसेविका लक्ष्मी कनोजियाले बुधबार नेपालगन्ज उप-महानगरपालिकाबाट पाएको साइकल घर पुर्याउन अटो रिक्सा बोलाउनुपर्यो । साइकल किन अटोमा राख्नुभएको? भन्ने प्रश्नको उत्तरमा लक्ष्मीले भनिन्, ‘चलाउनै आउँदैन । सानोमा छोरी मान्छेले साइकल चलाउन खोज्दा हेर यो त साइकल पो चलाउन थाली भनेर खिसी गर्थे । अनि सिक्न मन लागेन । बुहारी भइसकेपछि त झन् साइकल चलाएको राम्रो मान्दैनन् हाम्रो समाजमा ।’
अब साइकल लगेर के गर्नुहुन्छ त? भन्ने अर्को प्रश्नमा लक्ष्मीले दृढ भएर उत्तर दिइन्, ‘अब त जसरी पनि सिक्छु ।’ खिसी गर्लान् नि ? ‘नगरपालिकाले नै साइकल चलाउ भनेर दिएपछि अब कसले रोक्ने । कसले खिसी गर्ने ?’ उनी भन्दै गइन्, ‘राति खाना खाइसकेपछि साइकल सिक्न निस्कने हो ।’
लक्ष्मीजस्तै अर्की स्वयंसेविका रचना बंशकारले पनि अहिलेसम्म साइकल चलाउन सिकेकी रहिनछिन् । उनीहरु दुवैजनाले एउटै अटो रिक्सामा साइकल बोकाएर घर पुर्याए । रचनाले लक्ष्मीकै जस्तो प्रतिबद्धता जनाइन्, ‘म पनि अब साइकल चलाउन सिक्छु ।’
साइकल पाएका केही स्वयंसेविकाहरुले सँगै आफन्त पनि लिएर आएका थिए । त्यसको कारण थियो चलाएर घरसम्म लगीदिउन् । उप-महानगरपालिकाले साइकल दिएपछि अब उनीहरुमा चलाउन सिक्ने जाँगर पलाएको उनीहरुसँगको कुराकानीबाट बुझ्न सकिन्थ्यो । उप-महानगरपालिकाले स्वास्थ्य स्वयंसेविकाहरुलाई आवतजावतमा सहज होस् भन्ने उदेश्यले साइकल वितरण गरेपछि अहिलेसम्म साइकल नसिकेका स्वयंसेविकाहरु पनि चलाउन सिक्ने इच्छा व्यक्त गरिरहेका थिए ।
उप-महानगरपालिकाले नगरका सबै स्वास्थ्य स्वयं सेविकाहरुलाई साइकल वितरण गरेको हो । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँको लागतमा एक सय ६८ स्वयंसेविकाहरुलाई साइकल वितरण गरिएको छ । स्वयंसेविकाहरुलाई उपमहानगर प्राङ्गणमा बोलाएर साइकल हस्तान्तरण गरिएको थियो । साइकल वितरण कार्यक्रम नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको उपस्थितिमा भएको थियो । कार्यक्रममा राणाले स्वास्थ्य स्वयंसेविका स्वास्थ्य दुत भएकोले उनीहरुलाई समुदायमा पुग्न सहज र सुलभ साधन भएको महसुस गरी साइकल वितरण गरिएको बताए ।
नेपालगन्ज उप-महानगरपालिकामा रहेका दुई सय १ जना स्वास्थ्य स्वयंसेविकामध्ये ३३ जनाले ६० वर्ष पुरा गरेर अवकाश लिइसकेकाले एक सय ६८ जनालाई साइकल वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले जानकारी दिए । स्वास्थ्य स्वयंसेविकाहरुको समुदायमा पहुँच सहज हुने र स्वास्थ्य सेवालाई समुदायस्तरमा पुर्याउन उनीहरुलाई थप हौसला मिल्ने अपेक्षासहित साइकल वितरण गरिएको चन्दले बताए । ‘अधिकांश स्वास्थ्य स्वयंसेविकाहरुले पहिले देखि नै साइकलको माग गर्दै आउनुभएको थियो । हामीले आर्थिक स्रोतको जोहो गर्न सकेका थिएनौँ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत उप-महानगरपालिकामा आएको रकमबाट साइकल वितरण गरेका हौँ,’ चन्दले भने ।