ऋचा लुइँटेलका दुई लघुकथा
Saturday, July 10th, 2021, 10:53 am
Kalpristha
–ऋचा लुइँटेल
तुलसीको मठ
घिमिरे बा आमाका दुई छोरा । कान्छो रमेश चुलबुले थियो भने जेठो विनोद विनम्र स्वभावको थियो । सम्पत्तिका नाममा पाँच कठ्ठा जमिनबाहेक केही थिएन घिमिरे बाका नाममा । घरको अवस्था खस्कदो थियो । प्रवीणता प्रमाणपत्र तहको पढाइ जेनतेन सकेर विनोदले एक कम्पनीमा सेल्स अफिसरको जागिर सुरु गर्यो । कान्छो रमेश साउदी पुग्यो । दुवै दाजुभाइले मेहनत गर्ने, पैसा कमाउने अनि बजारमा घर बनाएर बा आमालाई सहरमा ल्याएर खुशी खुशी दिन बिताउने सपना देखेका थिए ।
जागिर सुरु गरेको केही समयपछि विनोदले चार कुना मिलेको अलिकति जमिन किन्यो । पूरै जमिन ढाकेर एउटा ठूलो बैठक कोठा दुईवटा बेडरुम किचन ट्वाइलेट धारासहित व्यवस्थित घर बनायो । बाहिर निस्कँदा सोझै सडकमा निस्किन मिल्ने घर हेर्दा पनि आकर्षक थियो । घर बनाएपछि विनोद गाउँ गयो र बा आमालाई बजारमा आफूसंगै बस्ने गरी आउन आग्रह गर्यो ।
बाले सोधे, ‘तेरो घरमा के-के छ बाबू ?’
बुबालाई घरको फोटो देखायो । भिडियो देखायो । तर बा आमा बजार आउन तयार नै भएनन् ।
बाले भने, ‘तेरो घरमा सबैथोक छ, तर एकथोक छैन’
‘के ?’
‘समयले भन्ला’
रमेशसँग पनि सोही क्रम दोहोरियो ।
बाले मरे पनि बाँचे पनि गाउँमै बस्ने निधो गरे ।
एकदिन अचानक बा ठाटीबाट लडेर अस्पतालमा भर्ना गरेको खबर आयो । विनोद आफैँ गाउँ गयो र आमालाईसमेत बजार ल्यायो । तर बाको स्वास्थ्य ठिक नभएर बा अस्पतालबाटै परलोक भए ।
शहरमा दुई छोराको घर हुँदाहुँदै बाबुको मृत शरीर गाउँ लैजान सामाजिक रूपमै नमिल्दो कुरा । विनोदले बाको मृत शरीर आफ्नो घरमा ल्याउने निधो गर्यो । श्वास हुन्जेल पाइलो नटेकेका बाबुको लाश बोकेर घर आएको विनोदलाई पन्डित बाजेले भने, ‘बाबू यी तिम्रा बा त हुन् । तर यिनी अब लास भैसके लास राख्न घर होइन बाबू, तुलसीको मठ चाहिन्छ । तिम्रा घरमा तुलसीको मठ खोइ ?’
………………………..
बुहारी
गीता निकै कोमल थिई । लापरबाह छोरी थिई । सबैसँग हाँसखेल गर्ने चुलबुले स्वभावकी थिई । अचानक १८ वर्षको उमेरमा उसको विवाह भयो । शिरमा सप्को राख, मान राखेर बोल, अब तिमी छोरी होइनौ बुहारी भयौ । विवाहको दोस्रो दिन यहि वाक्यबाट उसको नयाँ जीवनको नयाँ अध्याय शुरु भयो ।
‘तिम्री आमाले उठ्न, बस्न, हिड्न, बोल्न केही सिकाइनन् ? कस्ति आमा हुन तिम्री ? घरबाट बाहिर एक्लै नहिड । उसले भिन्न मान्छेबाट फरक-फरक समयमा एकनास निःशुल्क सल्लाह पाई । तिम्रा विचार राख्न जरुरी छैन हामी छौँ गर्नलाई । हामीले जे भन्छौ त्यो मान्ने हो बुहारीले । तिमी छोरी होइनौ बुहारी हौ ।’
उसले स्वयम्लाई घनले ठोकी, सिलौटोमा पिसी, संस्कारको जातोमा आफैं पिसिई र बुहारीको साचोमा ढाली आफुलाई । अब ऊ छोरी होइन पक्का बुहारी भैसकेकी थिई ।
समयको चर्खा घुम्यो । सासू ससुरा वृद्ध भए । रोगी भएर उठबस गर्नै नसक्ने भए । ‘सासू बिस्तराबाट उठ्नै सक्दिनन् । शिर पैताला नहेर । आफ्नै हातले खाना खुवाउ । ससुरा एक्लै हुनुहुन्छ । दिक्क हुनुहुन्छ । एकछिन भएपनी बसेर गफ गर । ससुराको कपडा फेर्न के को संकोच ? नुहाईदिन, दाह्री काट्न, तेल मालिस गर्न के को लाज ? किनकि तिमी बुहारीको रुपमा हाम्री छोरी हौ ।’
फरक समयमा फरक मान्छे उही सल्लाह लिएर सम्झाएर गए । सकुन्जेल गीताले पनि गरिरही । कसैले भनेपनी नभनेपनी आफ्नो धर्म र कर्तव्य उसले पूरा गरिरही ।
अब उसको पनि उमेर बढ्दै थियो शरीर कमजोर हुँदैथियो । भनेको बेला झट्ट उठ्न मुस्किल थियो । सधैं एकनास हुन त ऊ पनि असमर्थ थिई । कहिले बिरामी हुन्थी, कहिले थाक्थी, कहिले व्यस्त हुन्थी ।
छोरीबाट बुहारी, बुहारीबाट छोरी । केही कमी हुन थाल्यो । केही गुनासाहरु बढ्न थाले । घरमा र छरछिमेकमा गाईगुई सुरु भयो ‘बुहारी कहिल्यै छोरी बन्न सक्दैनन्’