‘पेटको भोकले रोगको डर मान्दैन सर’
Tuesday, July 13th, 2021, 7:08 pm
Kalpristha
सुर्खेत घर बताउने धमला दम्पत्तिका अनुसार उनीहरु गत चैत २६ गते कोरोनाका कारण नेपाल फर्केका थिए । नेपालको बसाइँले उनीहरुको परिवारमा ५० हजार ऋण थपिदियो । सोमबार बेलुकी भारत जान लागेका उक्त दम्पत्तिको अनुहारमा कत्तिपनि खुसी देख्न सकिन्थेन । कल्पनाले कुरा गर्दैगर्दा आँसु झरिरहेका थिए ।
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, २९ असार
‘हाम्रा लागि कोही पनि छैनन् सर । कोरोनाले गर्दा भारतबाट नेपाल आएको पनि तीन महिना हुन लाग्यो । यो तीन महिनामा ५० हजार ऋण लागि सक्यो । न हाम्रो जग्गा जमिन छ न कुनै आयस्रोत छ । उमेर पनि ५० नाघिसक्यो । नेपालमा केही छैन । अब तपाईँ आफैँ नै भन्नुस सर हामी के गर्ने ? कोरोनाको डर मानेर घर बसेर हुन्छ र ? काम नगरी खान पाइन्न । फेरी इन्डिया नगई भएन । पेटको भोकले रोगको डर मान्दैन नि सर,’ सुर्खेतकी कल्पना धमलाले सोमबार चौलिका नाकामा कालपृष्ठकर्मीसँग आँखाबाट आँसु झार्दै गरेको विलौना हो यो ।

‘मेरो एउटा हात छैन । तर पनि नेपालमा मलाई कुनै कार्ड बनाइदिएनन् । एउटा हात नभएपनि इन्डियामा जाने आउने गर्दै आइरहेका छौं । हामी जस्ता गरिबलाई नेपाल सरकारले केही गर्न सक्दैन । हामी नेपाल बसेर काम पनि गर्न सक्दैनौँ । नेपालमा बसियो भने ऋणले थिचेर मरिन्छ,’ एउटा हात नभएका कल्पना धमलाका श्रीमान् नगेन्द्र धमलाले आफूहरुको विवशता थप खुलाए ।
सुर्खेत घर बताउने धमला दम्पत्तिका अनुसार उनीहरु गत चैत २६ गते कोरोनाका कारण नेपाल फर्केका थिए । नेपालको बसाइँले उनीहरुको परिवारमा ५० हजार ऋण थपिदियो । सोमबार बेलुकी भारत जान लागेका उक्त दम्पत्तिको अनुहारमा कत्तिपनि खुसी देख्न सकिन्थेन । कल्पनाले कुरा गर्दैगर्दा आँसु झरिरहेका थिए । उमेरले ५० वर्ष नाघेपनि ती च्याउरी परेका छाला र बुढो हड्डीले भारतमा गए अझैपनि केही गरे बाँच्न सकिन्छ भन्ने आशा चाहीँ बाँकी रहेछ । ऊनीहरुलाई देशभन्दा परदेशप्रति बढी विश्वास थियो ।
धमला दम्पत्ति सँगै काँधमा झोला बोकेर भारत जाँदै गरेका का कैलालीका जफत परियार पनि भेटिए । आक्रोसित भावमा कुरा गर्दै परियारले भने,‘अनिकालमा भुइँमा पोखिएको भात खाने की नखाने ।’ उनको अहिलेसम्म आर्थिक जोहो भारतबाटै चलिरहेको छ । उनले कोरोनाको महामारीपछि भने नेपालमै केही गरेर बस्ने सोचेको बताए । तर उनले सोचेको जस्तो सजिलो देशमै केही गर्नु भइदिएन ।
धमला दम्पत्ति र जफतजस्तै जिविका निर्वाहको आशामा काँधमा झोला बोकेर भारत तर्फ लम्केका नेपालीहरुको आजभोली बाँकेको जमुनाह सीमानाकामा घुइँचो देख्न सकिन्छ । देशमा रहेका तीन तहका सरकारमध्ये कसैले पनि देशमा बसे बाँच्न सकिने भरोसा नदिएको उनीहरु बताउँछन् । उनीहरु सरकारका नीति र बजेटले आफूहरुलाई सम्बोधन गर्न नसकेको बताउँछन् । अधिकांशलाई सरकारका भाषणबारे थाहा पनि छैन । उनीहरुलाई भारत पसे खान र लाउनका समस्या हुँदैन भन्ने आशा मात्रै छ ।
कुराकानी गर्ने क्रमममा अन्य धेरैसँग हाम्रो कुराकानी भयो । कुरा गर्दै जाँदा सबैका पीडा उस्तै सबैको भनाइ उस्तै । सबै भन्ने गर्थे ‘पेटको भोकले रोगको डर मान्दैन सर ।’ नागरिकहरु कोरोनाको जोखिमकाबिच बाध्यताबस भारत पलायन भइरहँदा देशमा भने यतिखेर राजनीति अस्तव्यस्त छ ।
अब सायद फेरि भातर पसेका जफल परियार, कल्पना धमला, नगेन्द्र धमला जस्ता नेपालीहरुलाई पुनः नेपाल आउन तेस्रो लहरको कोरोना आउनु पर्ने होला ।