महिलाको रहस्यमय मृत्यु
Thursday, July 22nd, 2021, 11:42 am
Kalpristha
विगत लामो समयदेखि आफ्नो श्रीमान्बाट यातना पाउँदै आएकी धोबीको रहस्यमय मृत्यु भएको छ । धोबी बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परिन् । उनी विगत लामो समयदेखि श्रीमान्बाट कुटिने र विभिन्न किसिमको यातना सहँदै आएको उनका आफन्तले बताएका छन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ साउन
समाजमा हुने घरेलु हिंसाका घटनामध्ये कति बाहिर आउँछन् त कति गुपचुप मै हराएर जाने गरेका छन् । त्यसैमाथि घरेलु हिंसाका घटना कतिपयले हिम्मत गरेर बाहिर ल्याउने प्रयास गर्छन् तर अधिकांश पीडितहरुले समाजका डरले लुकाउँछन् । आफूलाई परेको पीडाबारे बताएपनि समाजिक र मानवअधिकारवादी संघसंस्थाहरु नै अप्रभावकारी बन्दा पीडितहरु छन् पीडित बन्ने गरेका छन् ।
यस्तै एक दुःखद घटना बाँकेको जानकी गाउँपालिका-२ मा घटेको छ । स्थानीय ३८ वर्षीय नन्कुनी धोबीले घरेलु हिंसा सहँदासहँदै मृत्युवरण गर्नुपरेको छ ।
विगत लामो समयदेखि आफ्नो श्रीमानबाट यातना पाउँदै आएकी धोबीको रहस्यमय मृत्यु भएको छ । धोबी बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परिन् । उनी विगत लामो समयदेखि श्रीमान्बाट कुटपिटका साथै विभिन्न किसिमको यातना सहँदै आएकी उनका आफन्तले बताएका छन् ।
पटक-पटक आफ्नो समस्या लिएर मानवअधिकारवादी संस्था र प्रहरीमा उजुरी दिएकी धोबी अन्ततः मृत फेला पर्नुले घटना थप रहस्यमय बनेको छ । मृतकका भाई माताप्रसाद धोबी दिदीलाई दाइजोलगायतको निउमा मार्ने धम्की दिने, कुटपिट गर्ने र दुव्र्यवहार गरिँदै आएको बताउँछन् । उनी निष्पक्ष छानबिन गर्न माग गर्दै जाहेरी दिने बताउँछन् ।
महिला अधिकारकर्मी रुबी खानले उक्त घटना एक्कासी नभई लामो समयदेखि श्रीमान्बाट पीडित भएकाले हुन गएको बताउँछिन् । खानले गत मंगलबार पनि मृतक महिला निवेदन ल्याएर आफ्नो संस्था नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा आएको बताइन् । उनीपनि घटनाको सत्यसत्य बाहिर ल्याएर दोषी उपर कडा कारवाही हुनुपर्ने माग गर्छिन् । छिमेकीहरुले पनि श्रीमान्बाट महिलाले यातना पाउँदै आएको बताएका छन् ।
बाँके प्रहरीले घटनाको सुक्ष्मरुपमा अनुसन्धान भई रहेको जनाएको छ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी घटनाको सुक्ष्म र प्रक्रियागत तरिकाबाट अनुसन्धान अगाडि बढाएको बताउँछन् । उनले मृतक महिलाका श्रीमान् रामकुमार धोबीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको जानकारी दिँदै पुरानो घटनाक्रमलाई समेत खोतलेर अनुसन्धान पूणर्गरी आवश्यक कारबाही अगाडि बढाइने बताए ।