नेपालगन्जमा हातले बनाएका जुत्ताको ब्राण्ड बन्ने लक्ष्यमा ‘एभरेष्ट’
Friday, July 23rd, 2021, 10:00 am
Kalpristha
उनले आफूले डिजाइन गरेका केही जुत्ता चप्पलमा आफ्ना ब्राण्ड नाम ‘एभरेष्ट’ समेत लेख्ने गरेका छन् । जुन नाम नेपालगन्जमा जुत्ता पारखीहरुमाझ परिचित नाम हो । एभरेष्ट जुत्ता भनेपछि राम्रो र बलियो हुन्छ भन्ने ग्राहकहरुमा छाप परेको छ । त्यही छापलाई जागाएर कृष्ण जुत्ताको आफ्नै ब्राण्ड बनाउने उदेश्यमा केन्द्रित छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
वीरेन्द्र जैसी–
कृष्णबहादुर सार्कीका पितापुर्खाको पेशा नै जुत्ता बनाउने हो । बुवाले घरमै छालाका जुत्ता बनाए, कृष्णले उद्योगमा । उद्योग पनि आफ्नो थिएन । करिब १५ वर्ष उनले अरुकै उद्योगमा जुत्ता बनाउने काम गरे । १५ वर्षको अवधिमा उनले जागिर मात्रै गरेनन्, आवश्यक सीप पनि सिके । त्यतिबेलै सिकेको सीपमाथिको विश्वासबाट उनी हाल नेपालगन्जमा हातले नै बनाइएका जुत्ताको ब्राण्ड स्थापित गर्नेगरी आफ्नै व्यवसायमा होमिएका छन् ।
उनका बुवाको पालाको जुत्ता बनाउने पेशा र अहिलेको पेशामा धेरै फरक आएको छ । पहिले जुत्ताको कच्चा पदार्थकारुपमा छाला मात्रै उपलब्ध थियो । तर अहिले थुप्रै किसिमका कच्चा पदार्थहरु बजारमा उपलब्ध छन् । उनको बुवाको पालामा कच्चा पदार्थ स्थानीय स्तरमै उपलब्ध हुन्थ्यो भने अहिले विदेशबाट आउँछ । पैसा भयो भने जस्तोसुकै कच्चा पदार्थ पनि बजारमा उपलब्ध छन् । पहिले सानो परीमाणमा उत्पादन हुन्थ्योे भने अहिले ठूलो परीमाणमा । पहिले जुत्ताका मोडेहरु एक दुई किसिम बाहेक धेरै हुन्थेनन् भने अहिले अनेक किसिमका मोडेलहरु कृष्णले बनाउँछन् । तर उनको पेशामा पुर्खाको आशिर्वाद छँदै छ ।
पाँँच कक्षासम्म अध्ययन गरेर सार्की दाइसँगै दाङबाट कैलालीको टीकापुर पुगे । त्यहाँ दाइसँग उनले आधुनिक जुत्ता बनाउने सीप सिके । जुत्ता बनाउने आधारभूत ज्ञान उनले दाइसँग एक वर्ष काम गर्दागर्दै सिकेको बताए । एकवर्षपछि उनी नेपालगन्ज आए । नेपालगन्जमा एभरेष्ठ जुत्ता उद्योगमा काम सुरु गरे । उक्त उद्योगमा पनि हातले नै जुत्ता बनाइन्थ्यो । उनीसँगै उक्त उद्योगमा सात आठजना काम गर्थे । उद्योग राम्रै चलिरहेको थियो । तैपनि साहुजीले उद्योग चलाउन नसक्ने निधो गरेर कृष्णलाई उद्योगका सबै सामान खरिद गरेर चलाउन आग्रह गरे । त्यसपछि सोही उद्योगकै नाममा उनले नेपालगन्ज वडा नं. २ मा एक सटर भाडामा लगे र सुरु गरे आफ्नै स्वामित्वमा जुत्ता बनाउने उद्योग ।
उनले उद्योग सुरु गर्न पाएकै थिएनन् कोरोना महामारीको कहर आइहाल्यो । लकडाउन भयो । व्यवसाय ठप्प । त्यसबिचमा उनले ऋण गरेर व्यवहार चलाए र उद्योगको भाडा तिरे । अहिले उद्योग खुलेपछि उनमा पुनः आशा पलाएको छ । तर विद्यालयहरु बन्द रहेका कारण उनको व्यापार फस्टाउन सकेको छैन । जुत्ताको ठूलो माग विद्यालयमा हुने गरेको कृष्ण बताउँछन् । जुत्ताको व्यापार फस्टाउनका लागि विद्यालय खुल्ने दिनको पर्खाइमा उनी छन् ।
यद्धपि उनले बनाउने जुत्ताका ग्राहक भने पहिले देखि नै छन् । उनले आफूले डिजाइन गरेका केही जुत्ता चप्पलमा आफ्ना ब्राण्ड नाम ‘एभरेष्ट’ समेत लेख्ने गरेका छन् । जुन नाम नेपालगन्जमा जुत्ता पारखीहरुमाझ परिचित नाम हो । एभरेष्ट जुत्ता भनेपछि राम्रो र बलियो हुन्छ भन्ने ग्राहकहरुमा छाप परेको छ । त्यही छापलाई जागाएर कृष्ण जुत्ताको आफ्नै ब्राण्ड बनाउने उदेश्यमा केन्द्रित छन् । त्यसबाहेक चलेका जुत्ताका मोडेलहरु पनि उनले बनाउने गरेका छन् । अर्डर अनुसार वा चाहिएको मोडेलको जुत्ता पनि उनले तयार गर्ने गर्छन् । उनीसँग हाल ७ सयदेखि २ हजार रुपैयाँसम्मका आकर्षक जुत्ताहरु उपलब्ध छन् ।
आफूले बनाएका जुत्ता बलियो, टिकाउ र सस्तो रहेको कृष्ण बताउँछन् । कृष्णले एकजना दाईभाउजु नाता पर्ने आफन्तको दम्पत्तिसहित तीन जनालाई पनि रोजगारी दिएका छन् । उनकी श्रीमतिले पनि फुर्सदको बेला सघाउने गर्छिन् । एकजनालाई उनी आफैले सीप सिकाएका हुन् । व्यवसाय बढ्दै गएमा थप आठ दश जना मानिसहरुलाई रोजगारी दिन सकिने उनी बताउँछन् ।
उनको उदेश्य नेपालगन्जमा जुत्ताको एक प्रसिद्ध ब्राण्ड बनाउने छ । बिस्तारै लगानी थप्दै जाने उनी बताउँछन् । उद्योगबाट आएको आम्दानी उद्योगकै वृद्धिमा लगाउने उनी बताउँछन् । उनी जुत्ताको माग र संभावना देखेर आफ्नो उदेश्य पूरा हुनेमा आशावादी छन् । तर पटकपटक हुने कोरोना सृजित लकडाउनले कहिलेकाँही तर्साउँछ पनि । विद्यालय खुले र पुनः लकडाउन भएन भने उदेश्य पूरना हुने उनी बताउँछन् ।
उनी सिक्न चाहने मान्छेलाई सीप सिकाउन तयार रहेको पनि बताउँछन् । पछिल्लो समय आफ्नो पुख्र्यौली पेशा भएका मानिसहरुभन्दा अरु जातका पैसा भएका मानिसहरुले लगानी गरेर जुत्ता बनाउने उद्योग सुरु गरेका कृष्ण बताउँछन् । त्यसले यस व्यवसायमा संभावना छ भन्ने पुष्टि गर्ने कृष्णको बुझाई छ । पेशामा अन्य जातका मानिसहरु पनि प्रवेश गरिरहँदा आफ्नो पुख्र्यौली पेशा भएका युवाहरुमा चासो नदेखिएको उनको ठम्याई छ । आफ्ना पुर्खाको सीपमै पैसा कमाउन विदेश जानैपर्ने बाध्यता हटाउन सक्ने ताकत रहेकोमा कृष्णलाई विश्वास छ । ॅमहिनामा २५, ३० हजार त यहीँ पनि कमाउन सकिन्छ,’ उनले भने ।
अर्कोतिर पुख्र्यौली सीपमा भविष्य देखिरहेका युवाहरुलाई राज्यले पनि सहयोग गर्न नसकेको कृष्णको अनुभव छ । सीप मात्रै भएर लगानी भएन भने व्यवसायीक बन्न गाह्रो हुने कृष्णको बुझाई छ । केही गर्न चाहने युवाहरुलाई लगानी जुटाउनै समस्या हुने गरेको उनले बताए । उनले आफ्नै अनुभव सुनाए, ‘उद्यमीहरुलाई बिनाधितो १० देखि १५ लाख रुपैयाँसम्म ऋण दिन्छ भन्ने मैले समाचारमा सुनेको थें । मैले उद्योग दर्ता गरेर धेरै बैंकमा सोधें, बुझें । बैंकमा जाँदाखेरि बिनाधितोको ऋण पाइँदैन भने । मसँग धितो राख्नेपनि केही छैन । लोन पाउनका लागि मैले के गर्ने र कहाँ जाने अब ?’
हातैले जुत्ता बनाउने हो भनेपनि अहिले विभिन्न खालका मेसिनहरु बजारमा आएको र तिनको प्रयोगले उत्पदान वृद्धि हुने र गुणस्तर पनि बढ्ने कृष्ण बताउँछन् । तर लगानी अभावमै मेसिनहरु किन्न नसकेको उनको भनाइ छ । अहिले उनीसँग सिलाई मेसिन र प्रेस्टिङ मेसिनमात्रै छन् । ऋण मात्रै नभई अन्य प्राविधिक सहयोग पनि कुनै निकायबाट नपाइएको उनी बताउँछन् । सीप र तालिमको व्यवस्था भएपनि राज्यले गरिदिनुपर्ने उनले माग गरे ।
कृष्णलाई आफूले दिने गूणस्तरमा पूरा विश्वास छ । कम्पनीहरुबाट बनेर आउने जुत्ताबाहेक अन्य जुत्तासँग बजारमा पनि प्रतिस्पर्धा गर्न आफू तयार रहेको उनी बताउँछन् । उपभोक्तासँग उनको एउटै आग्रह छ, ‘स्थानीय उत्पादनलाई माया गरिदिनुस्’