अष्ट्रेलियाको बाटो छोडेर गरे ह्याचरी उद्योग स्थापित
Saturday, September 4th, 2021, 10:53 am
Kalpristha
ह्याचरीमा खजुराका दुई भाइको सफलता
आठ वर्षमा आईपुग्दा उनीसँग दुईवटा एकतले सेड र दुईवटा दुईतले सेडहरु छन् । ती सेडमा १२ सय वयस्क न्यू हेम्पसायर, गिरीराज करिब २५ सय, करिब ८ सय लोकल कुखुराहरु छन् । हप्तामा १० हजार चल्ला उत्पादन गर्ने क्षमता रहेको उद्योगले ७ हजारसम्म चल्ला उत्पादन गरिरहेको छ ।
ह्याचरीमा खजुराका दुई भाइको सफलता – YouTube
वीरेन्द्र जैसी/विक्रम बुढाक्षेत्री
खजुरा, १८ भाद्र
२०५२ सालमा योगेशका बुवा भोजराज रावलले एक उद्योगमा पार्टनरशीपमा लगानी गरेका थिए । तर उक्त उद्योगको बजार व्यवस्थापन राम्ररी नहुँदा असफल भयो । त्यसपछि उनी सरकारी जागिरतर्फ लागे । त्यही भएर उनले छोराहरुलाई पनि जागिर गर्नतिरै हौस्याउने गर्दथे । तर, जेठो छोरा योगेशले उनको सुरुवाती व्यवसायसँगै जोडिएको बाटो समाए । माइला छोरा विवेक पनि दाइकै बाटोमा उत्साहपूर्वक लागेका छन् ।
तीन भाई एक बहिनीसहित पाँच जनाको परिवार । बुवा पशु प्राविधिकको रुपमा सरकारी जागिरे । बुवा एकजनाको कमाईले घर खर्च र आफूहरुको पढाई खर्च धान्न अप्ठ्यारो भएको योगेशलाई राम्ररी महसुस भइरहेको थियो । त्यही अभाव महसुस गरेका उनलाई बुझ्ने भएदेखि नै पैसा कसरी कमाउने भन्नेतिर ध्यान जान थालिसकेको थियो ।
करिब २०६४ सालतिर बुवाकै प्रयासमा दुईसय कुखुराबाट व्यवसायलको सुरुवात गरिएको यागेश बताउँछन् । परिवार भने भने भाडाको घरमा बस्दै आएको थियो । त्यतिखेर योगेश कक्षा ६ मा पढिरहेका थिए । उनी स्कुलबाट बचेको अधिकांश समय कुखुराको स्याहारमै बिताउने गर्थे ।
उनले आइएस्सी एजीको पढाई खजुराकै जनता माविबाट पूरा गरे । जनताबाट आइएस्सी एजी पुरा गर्ने पहिलो ब्याचका विद्यार्थी थिए योगेश । आइएस्सी एजी गरेपनि उनलाई त्यसले जीवन निर्वाहको मार्ग पहिल्याउन सहयोग गरेको जस्तो लागेन । त्यसपछि उनले चितवन गएर १५ महिने जेटिए पनि अध्ययन पूरा गरे । जेटिए पढेर आएर खजुराको एक नम्बरमा एग्रोभेट सन्चालन गरे ।
त्यहीबिचमा उनको विवाह पनि भयोे । एग्रोभेटबाट पनि उनले सोचेको जस्तो अर्थोपार्जन हुने देखेनन् । उनले आफ्नो फार्ममा भएका कुखुरा समयमा बिक्री नभइरहेकोमा बजारमा लैजान सजिलो हुने ठानेर नेपालगन्जमा कुखुराको फ्रेस हाउस खोले । उक्त फ्रेस हाउसमा पनि उनको चित्त बुझेन । त्यसपछि उनमा विदेश जाने सोच आयो ।
अष्ट्रेलिया जानका लागि IELTS पढ्न काठमाडौं गए । तर IELTS पढेर परीक्षा दिनेदिन २०७२ वैशाख १२ गते महाभुकम्प आयो । ‘मलाई भाग्यले विदेश नजा भनेर हो कि ठ्याक्कै परीक्षा दिनेदिन भुकम्प त्यहीदिन गइदियो के,’ योगेशले हाँस्दै भने । भुकम्प आएपछि घर फर्केका उनको IELTS को तयारी राम्ररी हुन पाएन ।
त्यहीबिचमा उनकी छोरी पनि जन्मिसकेकी थिइन् । छोरीको अनुहार हेरेपछि उनलाई लाग्न थाल्यो यीनलाई छोडेर विदेश के का लागि जाने ? योगेशले भने, ‘छोरीको फेस हेरेपछि विदेश किन जाने हो भन्ने भयो के । बाउलाई आफ्नो सन्तानको माया लग्दो रैछ । जस्तो मैले छोरीलाई हेरेर फिल गरेँ त्यस्तै ड्याडीलाई हुन्छ होला जस्तो लाग्यो ।’ उनले विदेश नजाने निणर्य बुवालाई सुनाए । बुवाले पनि उनको निणर्यमा समर्थन जनाए र व्यवसाय गर्न सुझाव दिए ।
उनले त्यतिबेला पाँच हजार लेयर्स कुखुराको फर्म सन्चालन गर्ने सोच बनाएका थिए । तर बुवाले केही नयाँ गर्न सुझाव दिए । त्यसपछि सुरु भयो उनको प्रगति ह्याचरी उद्योग एवं कुखुरा फार्मको यात्रा ।
त्यतिबेला खजुरास्थित कुखुरा विकास फार्ममा न्यू हेम्पसायर जातका कुखुराको माग धेरै थियो । तर, त्यहाँबाट सबै किसानको लागि चल्लाको माग पूर्ति नभइरहेको र प्रकृया पनि झन्झटिलो थियो । त्यही अवस्थालाई हेरेर उनले खजुरा वडा नम्बर ३ धौलागिरीमा न्यू हेम्पसायर कुखुरा राख्ने एउटा सेड र ह्याचरी मेसिन राख्ने एक घरबाट उद्योग सुरु गरे ।
सुरुवातमा फार्ममा उनले कामदार राखेनन् । सबै काम आफू र भाई विवेकले गरे । विवेकले पनि हाल आइएस्सी एजी अध्ययन पूरा गरिसकेका छन् । उनले ह्याचरी सुरु गरेको आठ वर्ष पुग्न लागेको छ । अहिले दुई भाइ प्रत्यक्ष र पूरै परिवार उद्योगका काममा सकेको सहयोग गर्छन् । बुवाले आवश्यक आइडिया दिने सरसल्लाह र सहयोग गर्ने गरिरहेका छन् । त्यसबाहेक चारजना कामदारहरु उद्योगमा जागिरे छन् ।
सुरुवातमा उनले १५ लाख बैंकको ऋण लगेर सुरु गरेको उद्योगमा अहिलेसम्म करिब दुई करोडको बैक लगानी पुगेको छ । यसबाहेक उनले उद्योगबाट कमाएको आम्दानी पनि उद्योगमै लगाएका छन् । १५ कठ्ठा जमिन किनेर सुरु भएकोमा उद्योगबाटै हाल ३५ कठ्ठा जमिन जोडिएको छ ।

योगेश रावल (बायाँ) र विवेक रावल (दायाँ)
आठ वर्षमा आईपुग्दा उनीसँग दुईवटा एकतले सेड र दुईवटा दुईतले सेडहरु छन् । ती सेडमा १२ सय वयस्क न्यू हेम्पसायर, गिरीराज करिब २५ सय, करिब ८ सय लोकल कुखुराहरु छन् । हप्तामा १० हजार चल्ला उत्पादन गर्ने क्षमता रहेको उद्योगले ७ हजारसम्म चल्ला उत्पादन गरिरहेको छ । उनको उद्योगका चल्लाहरु बाँके, बर्दिया, सुर्खेत र सुदुरपश्चिमका विभिन्न जिल्लामा पुग्ने गरेका छन् ।
तर, खुला सीमाका कारण भारतबाट हुने अवैद्य आयातले गर्दा कुखुराको बजारमा उतारचढाव भइरहने गरेको योगेशले बताए । यस समस्याले सबै कुखुुरा व्यवसायीहरु मर्कामा रहेकोले राज्यले त्यस्तो आयात रोक्नुपर्ने उनको माग छ ।
ब्रोइलरको जस्तो गिरीराज कुखुराको माग नभएकोले अब ब्रोइलरको चल्ला पनि उत्पादन गर्ने उनले योजना बनाएका छन् । ह्याचरी सफल भएमा र घाँसको राम्रो व्यवस्थापन गर्न सकिएमा भविष्यमा बाख्रापालन पनि सुरु गर्ने योगेश बताउँछन् । ‘जे गरिन्छ अब कृषि मै गरिन्छ,’ उनले दृढता व्यक्त गरे ।
आफूले अहिले प्राप्त गरेको सफलताका पछाडि बुवाको सल्लाह एवं आइडिया र आमाको हौसला र सिकाएको मिहिनतको संस्कारले मुख्य भूमिका खेलेको योगेश बताउँछन् । यसका साथै उनले बुवा, भाइ र आफूले लिएको व्यवसायसँग सम्बन्धित औपचारिक ज्ञानले पनि धेरै सहयोग गरेको उनी बताउँछन् । सामान्य समस्याका लागि उनीहरुले प्राविधिक नै खोज्नुपर्ने बाध्यता छैन ।
अष्ट्रेलिया जाने योजना स्थगित गरेर कृषिमा होमिएका २९ वर्षीय योगेश देशमै केही गर्नुको आनन्द नै परिवार साथमा हुनु रहेको बताउँछन् । आफूजस्तै युवाहरुलाई पनि देशमै केही गर्न सुझाव दिन्छन् । आइडिया, व्यवसायीक योजना, दृढ संकल्प र काम गर्न लाज नमान्ने हो भने धेरै संभावना स्वदेशमै रहेको उनको बुझाइ छ ।