यस्तो छ कांग्रेस बाँकेको सभापतिका उम्मेदवार नारायण गौडेलको जीवन
Tuesday, January 4th, 2022, 9:17 am
Kalpristha
नेपाली कांग्रेस बाँकेको सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेता नारायणप्रसाद गौडेल कुशल संगठकका रुपमा परिचित छन् । कोहलपुर निवासी गौडेलले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह-सचिव, केन्द्रिय संगठन विभाग सदस्यदेखि महासमिति सदस्य पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका छन् ।
२०६१ सालमै क्षेत्रीय सभापति बनेका गौडेलसंग जिल्ला कार्यसमितिमा सहसचिव भएको अनुभव पनि छ । उनी २०५९ मा बाँके कांग्रेसको सहसचिव बनेका थिए । उनी २०५६ सालमै क्षेत्र नम्बर १ को प्रचारप्रसार समितिको सदस्य थिए । २०३६ सालदेखि साधारण सदस्यका रुपमा रहेका गौडेल २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । नेपाल तरुण दल कोहलपुरका संस्थापक उनी १२औं महाधिवेशनबाट २०६७ सालमा उनी केन्द्रिय संगठन विभाग सदस्य पनि बनेका थिए ।
हाल महासमिति सदस्यका रुपमा क्रियाशील गौडेल १३औं महाविधेशनमा पनि सभापति पदका उम्मेदवार थिए । उनी त्यतिबेला सफल हुन सकेनन् । गौडेल दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार समेत थिए ।
नेपाली कांग्रेस बाँकेको शिक्षा विभाग प्रमुख बनेर काम गरेका अनुभव बोकेका गौडेल सामाजिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् । उनी नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको सभापति र बाँके शाखा सदस्य पनि भए । यस्तै ज्ञानोदय सामुदायिक पुस्तकालयका संस्थापक सदस्य उनी कोहलपुर बसपार्क सुधार समितिको अध्यक्ष समेत भए । कोहलपुर एफएमको सञ्चालक सदस्यका रुपमा रहँदै सञ्चार क्षेत्रमा पनि योगदान पुर्याएका गौडेलले दिब्य विद्या सदन माविको अध्यक्ष भएर पनि काम गरे ।
जनआन्दोलन २०६२/६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिवेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए । उनलाई कडा यातना दिइएको थियो । १० बर्षे द्वन्दकालमा कांग्रेसको संगठनलाई चुस्त दुरुस्त राख्दै कार्यकर्तालाई संरक्षण गर्न उनले महत्वपूणर् भूमिका निर्वाह गरेको कार्यकर्ताहरु स्मरण गर्छन् । त्यस क्रममा उनले माओवादीबाट थुप्रै यातना व्यहोरेका थिए । तर, जनताको अभिभावकका रुपमा भूमिका निभाउन र जनताको सुखदुःखमा साथ दिन छोडेनन् । उनको यही छवीका कारण कांग्रेस नेता कार्यकर्तामाझ उनी लोकप्रिय छन् ।
निरन्तरको क्रियाशीलता र पार्टीका नेता कार्यकर्तासंगको निकटता तथा सुमधुर सम्बन्ध आफ्नो चुनाव जित्ने आधार भएको गौडेल बताउँछन् । उनी भन्छन्-‘पार्टीको संगठनलाई चुस्तदुरुस्त र मर्यादित बनाउन पार्टीको पूणर्कालीन सदस्यको रुपमा निरन्तर कार्य गर्दै आएको छु, आगामी दिनमा पनि नेपाली कांग्रेसको सिद्धान्त र आदर्शलाई साकार पार्नका लागि पार्टीले खटाएको काममा सक्रिय रहँदै निमुखा जनताको न्याय, स्वाभिमान र स्थानीय विकासका निम्ति काम गर्नेछु ।’
कांग्रेस बाँकेलाई पुरानै शाखमा फर्काउन सुदृढ, गतिशील र सक्षम कांग्रेस बनाउने आफ्नो अठोट रहेको गौडेल बताउँछन् । सबै तहका निर्वाचनमा पार्टीलाई जिताउँदै जिल्लामा पार्टीलाई एक नम्बर बनाउने आफ्नो संकल्प रहेको गौडेलको भनाइ छ । निरन्तरको क्रियाशीलता र पार्टीका नेता कार्यकर्तासंगको निकटता तथा सुमधुर सम्बन्ध आफ्नो चुनाव जित्ने आधार भएको गौडेल बताउँछन् ।
सभापति पदका उम्मेदवार गौडेलले आफ्नो प्यानल निर्वाचित भएपछि जिल्लाभरी छरिएर रहेका द्वन्दपीडितलाई कांग्रेसमा जोड्ने बताए । उनले आफ्नो प्यानल निर्वाचित भएपछि किसान, तरुण, बिद्यार्थी, ब्यापारी, मजदुर सबैको प्रतिनिधित्व हुने बताएका छन् । “सबैको दुःख पीडालाई बुझेर हामी काम गर्नेछौं, स्थानीय तथा केन्द्रिय निर्वाचनमा बाँके जिल्लाको तीनै क्षेत्रमा कांग्रेसको चारतारे झण्डा फर्फराउनेछौं,“ उनले भने । कांग्रेसभित्र घात-अन्तरघात गर्ने कसैलाई पनि आफूले बाँकी नराख्ने र पहिलो निणर्यबाटै अनुशासन समिति बनाउने प्रतिवद्धता उनले जनाएका छन् ।