शुक्रबार नेपालगन्ज कनक्लेभ, शनिबार नेपालगन्ज म्याराथनको १२औं संस्करण हुँदैं
Thursday, November 26th, 2026, 8:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० मंसिर
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करण तयारी पूरा भएको आयोजकले विहीबार पत्रकार सम्मेलन गरेर जनाएको छ । आज शुक्रबार नेपालगन्ज कनक्लेभ हुँदैछ भने शनिबार नेपालगन्ज म्याराथन आयोजना हुनेछ । कनक्लेभमा युवा, खेलकुद, पर्यटन, उद्यमशीलता, अर्थराजनीति र साहित्यको विषयमा विमर्श हुने कनक्लेभका निर्देशक जनक नेपालले बताए । नेपालगन्जमा आगामी मंसिर १२ गते नेपालगन्ज म्याराथन हुदैछ ।
सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदैआएको म्याराथनको यस वर्षको संस्करणमा १२ वटा विधा समावेश गरिएको म्याराथनका अध्यक्ष टीएस ठकुरीले बताए । अध्यक्ष ठकुरीका अनुसार यस वर्ष १२ वटा सामुदायिक संस्थालाई कम्युनिटी पार्टनरका रूपमा जोडिएको छ । स्थानीय बीपी चोकबाट सुरु हुने दौडमा ४२ किलोमिटर पुरुष खुला म्याराथन, २१ किलोमिटर महिला हाफ म्याराथन, १० किलोमिटर महिला तथा पुरुष खुला, पाँच किलोमिटर महिला तथा पुरुष खुला र विद्यालयस्तरीय छात्रछात्रा दौड समावेश छन् । त्यस्तै, तीन किलोमिटर कर्पोरेट रन, किड्स रन, ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल पनि सञ्चालन हुनेछन् ।
४२ किलोमिटरको खुला म्याराथनमा महिलाले व्यक्तिगत समयका लागि सहभागी हुन चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइनेछ । त्यस्तै, २१ किलोमिटर महिला हाफ म्याराथनमा पुरुष धावकले पनि समय सुधारका लागि दौडिन सक्ने व्यवस्था गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । उनका अनुसार ४२ किलोमिटर दौडमा ४०–५०, ५०–६० र ६०–७० वर्ष उमेर समूहका धावकको छुट्टै वरियताक्रम निर्धारण गरी प्रत्येक समूहका पहिलो तीन स्थान हासिल गर्ने धावकलाई प्रोत्साहन गरिने छ ।

………
विभिन्न विधाका उत्कृष्ट धावकलाई मेजर म्याराथन तथा वल्र्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागी हुने अवसर प्रदान गरिने अध्यक्ष ठकुरीले बताए । नेपालगन्ज म्याराथनले एम्सको अन्तर्राष्ट्रिय सोसल अवार्ड प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै ठकुरीले यसलाई म्याराथनको सामाजिक अभियान र निरन्तर प्रयासको अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिएको बताए । धारा नेपालगन्ज म्याराथनका टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले सबैको सामूहिक प्रयत्नबाट यो अभियान सफल हुँदै गएको जनाए ।