जानकीमा ‘गाउँपालिका अध्यक्षसँग जनता भेटघाट’ कार्यक्रम संचालन
Wednesday, August 31st, 2022, 7:08 pm
Kalpristha
बाँकेको जानकी गाउँपालिकामा ‘गाउँपालिका अध्यक्षसँग जनता भेटघाट’ कार्यक्रम संचालन गरिएको छ । बुधबार पालिकाको वडा नम्बर ५ मा उक्त कार्यक्रम संचालनमा आएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आथित्यतामा भेटघाट कार्यक्रम सुरु गरिएको वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवले जानकारी दिए । जनताका समस्या, गुनासो सुन्नका लागि हरेक महिनाको १५ गते र महिनाको अन्तिम दिन गाउँपालिका अध्यक्ष छब्बन खाँ वडा कार्यालयमै आउने भएको उनले बताए ।
उनले भने, ‘जनताका समस्या र गुनासो सुन्ने र अध्यक्ष ज्युले पनि आफ्ना कुरा जनतालाई सुनाउने भएको हुँदा धेरै कुराको सम्बोधन उहाँले वडा कार्यालयमा आएर गर्नुहुनेछ ।’ कतिपय जनताका आशा र अपेक्षालाई वडाअध्यक्षले मात्रै सम्बोधन गर्न नसक्ने भएको हुँदा गाउँपालिका अध्यक्षले समाधान गर्न सहज हुने यादवले बताए ।
जानकी गाउँपालिका वडा नम्बर ५ ले सुरु गरेको यस्तो अभ्यास सम्भवत: जिल्लाकै पहिलो र नयाँ कार्यक्रम हो । यसबाट जनताका धेरै भन्दा धेरै समस्या सम्बोधन गर्न सहज हुने अपेक्षा गरिएको अध्यक्ष खाँ बताउँछन् ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष खाँसहित जिल्ला समन्वय समिति बाँकेका सदस्य जुल्फेकार सिद्धिकी, वडा नम्बर ५ का वडाअध्यक्ष यादव, वडा नम्बर ६ का वडाअध्यक्ष जगदिश हरिजन, कार्यपालिका सदस्य कान्ति काँदु, वडा सदस्यहरु, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।