नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय बाल भेला
Sunday, May 24th, 2026, 8:51 pm
Kalpristha
सिराज खान
नेपालगन्ज, जेठ ९ गते
लुम्बिनी प्रदेशका १२ जिल्लाका बालबालिको सहभागिता रहेको प्रदेशस्तरीय बाल भेला शनिवारदेखि नेपालगन्जमा शुरु भएको छ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा शुरु गरिएको सो बाल भेलाको उदघाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले आजका बालबालिकानै भोलीका देशको भविष्य भएकोले अहिलेबाटै उनिहरुको चौतर्फि विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताउनुभयो ।
मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशका सबै जिल्लाका बालबालिकाको सहभागितामा संचालन भइरहेको यो भेलाले बालबालिकाको हितमा राम्रा र सकारात्मक निर्णय गर्ने अपेक्षा गरिएको जनाउँदै सरकारले निर्णयहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण आचार्य, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी, निमित्त प्रमुख जिल्ला अधिकारी महेश गुरुंग र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसी लगायतले बालबालिकाको हितमा यो भेला कोशेढुंगा साबित हुने कुरामा जोड दिनुभयो ।
प्रदेशका १२ जिल्लाका करिब ७० जना बालबालिकाको सहभागिता रहेको सो भेला दुई दिनसम्म चल्ने छ भने भेलाले प्रदेशस्तरीय बाल क्लब संजाल समेत गठन गर्ने सो अवसरमा जनाईएको थियो ।