‘प्रधान जी नमस्कार, एक बोरा चामल दिनु होला’
Monday, November 7th, 2022, 6:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ कात्तिक
नेपालगन्जका उप–महानगरपालिका वडा नम्बर– २० अध्यक्ष कौशल धोवीलाई निर्वाचन आयोगको आचार संहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचार संहिता लागु भएको समयमा वडा अध्यक्ष धोवीले चामल बाडेको उजुरी परेको थियो । उनले हस्ताक्षर गरेर वडाका जनतालाई एक किराना पसलका मालिकलाई चामल दिनु भनेर लेखेको चिट फेला परेको थियो । जसका आधारमा उनलाई आचार संहिता अनुगमन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
वडा कार्यालयले नेपालगन्ज एयरपोर्ट नजिकै रहेको रामगोपाल बर्मा(प्रधान)को पसलबाट चामल खरिद गदै आएको छ । त्यही पसलमा वडा अध्यक्षले हस्ताक्षर गर्दै चामल लिन पठाउने गरेको आरोप लागेको छ ।
वडा अध्यक्षले चुक्त बुझदो जवाफ नदिए कारबाही हुन सक्ने बताउँछन बाँके जिल्ला स्थित निर्वाचन अनुगमन अधिकृत खडानन्द अधिकारी ।
उनले भने,‘वडा अध्यक्ष धोवीले निर्वाचन आचार संहिता लागु भएको बेला चामल वितरण गर्नु भएको छ । वडा कार्यायलबाट उक्त चामल वितरण गरेको बताउनु भएको छ । वडाले निर्णय गरेर विपन्नलाई बाडने निर्णय गरेपनि त्यो अहिले मिल्दैन । जुन आचार संहिता विपरित हो ।’
गत असोजमा परेको अत्याधिक वर्षाका कारण बाढी पिडित भएकालाई वडाले राहत दिने निर्णय गरेको बताउँछन् वडा अध्यक्ष धोवी । बाढीका कारण पिडित बनेका जनतालाई नेपालगन्ज उप–महानगरपालिकाको विपत व्यवस्थापन समितिले राहत दिने निर्णय गरेको थियो । त्यहि निर्णयका आधारमा आफुले चामल वितरण गरेको अध्यक्ष धोवीले जानकारी गराए ।
अध्यक्ष धोवीका अनुसार नेपालगन्जको २० नम्बर वडामा ३ सय जनाले राहतका लागि फारम भरेका छन् । त्यसमा ९० जना जतिले राहत लिइसकेको उनले बताए ।
निर्वाचन अनुगमन समितिले सोधेको स्पष्टिकरणको जवाफ आफुले दिईसकेको अध्यक्ष धोवीले बताए । तर आचार संहिता अनुगमन अधिकृत अधिकारीले सोमबार बेलुका सम्म आफुले स्पष्टीकरण प्राप्त नगरेको कालपृष्ठ दैनिकलाई जानकारी गराए ।