खजुरालाई व्यवासयिक कृषि क्षेत्रको रुपमा विकास गर्छुः किशोरसिंह राठौर
Wednesday, November 9th, 2022, 9:25 am
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २२ कात्तिक
नेपाली काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले बाँकेको क्षेत्र नम्बर ३ को बजार क्षेत्रलाई आधुनिक बजारीकरण तथा ग्रामीण क्षेत्रलाई व्यवसायिक कृषि एवम् पशुपालन क्षेत्रका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताएका छन् ।
बाँके क्षेत्र नम्बर ३ अन्तर्गत् खजुरा क्षेत्रका उद्यागी व्यवसायीहरुसंग मंगलबार खजुरा बजारमा अन्तक्र्रिया कार्यक्रममा बाँकेको क्षेत्र नम्बर ३ का गठवन्धनका उम्मेदवारसमेत रहेका काँग्रेस सहमहामन्त्री राठौरले खजुरा बजारको पूरानो साख फर्काएर यस क्षेत्रकै व्यापारिक एवम् उद्यम केन्द्र बनाइने बताए ।
सह–महामन्त्री राठौरले खजुरा बजार पहिले विमानस्थल र खाद्य भण्डारका रुपमा यस क्षेत्रमै चर्चित र व्यस्त बजार रहेकोमा पछिल्लो राजनीतिक नेतृत्वले खजुरालाई अगाडी बढाउन नसकेको बताए । आफु बाल्य एवम् युवाकालमा खजुराको विमानस्थल प्रयोग गरेर आवतजावत गर्ने गरेको स्मरण गर्नुहुँदै सह–महामन्त्री राठौरले खजुरा बजार भित्रका गाउँहरुले खाद्यान्न उत्पादन गरेर देशका विभिन्न भागमा पठाउने विगतलाई पुनःस्थापित गर्ने खालको कार्यक्रम ल्याउने बताए ।
सह–महामन्त्री राठौरले दुई वर्षभित्र नेपालगञ्ज गुलरिया सडकलाई फोर लेन बनाउने तथा पेडारीसहितका नालामा अत्याधुनिक पूल निर्माण गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गरेको बताए । उनले देशैभर गठवन्धनको लहर रहेकाले निर्वाचनपछि गठवन्धनकै नेतृत्वमा सरकार बन्ने र घोषणापत्र अनुसार मुलुकलाई सुशासनसहितको समुन्नतिको बाटोमा अघि बढाउने उल्लेख गरे । कार्यक्रममा खजुरा उद्योग व्यापार संघका अध्यक्ष नेत्र रानाभाट, प्रतिष्ठित उद्योगी उत्तमराज घिमिरे,शिवराज श्रेष्ठलगायतले खजुरा क्षेत्रमा उद्योग र व्यापारको अवस्था र आवश्यकताबारे धारणा राखेका थिए ।