ई–रिक्साको व्यवस्थापन कार्य सुरु, १२ हजारमा २ हजार मात्र दर्ता (भिडियो सहित)
Thursday, May 18th, 2023, 9:32 pm Kalpristha
लक्ष्मी तिमिल्सेना नेपालगन्ज, ४ जेठ
पछिल्लो समय नेपालगन्ज उप–महानगरपालिका इ–रिक्साहरुको व्यवस्थापनमा जुटिरहेको छ । यहाँका जनप्रतिधि र ट्राफिकका लागि टाउको दुखाईको विषय बनेको इ–रिक्साहरुको व्यवस्थापनको काम नगरले सुरु गरेको हो ।
हाल नेपालगन्जमा इ–रिक्साहरुका लागि ‘सचेतीकरण अभियान’ चलिरहेको छ । सो अभियान जेठ १० गतेसम्म चल्ने छ ।
अहिले नेपालगन्ज उप–महानगरपालिकाका सडकमा गुडिरहेका इ–रिक्साहरुको आधिकारिकता परीक्षणसंगै उनिहरुको वैधताबारे समेत सोधिखोजि गर्ने कार्य भैरहेको छ ।
यसबारे थप जानकारी दिंदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रहरी प्रमुख तिलक सुनारले भने,–‘हामीले इ–रिक्साहरुको व्यवस्थापनमा काम गरिरहेका छौं । यस सन्दर्भमा नेपालगन्ज उप–महानगरपालिकाले कार्यविधि निर्माण गरेको छ । त्यसैको कार्यान्वयन स्वरुप यो सचेतिकरण अभियान स्थानिय तहले गरिरहेको छ । त्यसमा हामीले समन्वयात्मक भुमिका निर्वाह गरिरहेका छौं ।’
नगरले थालेको सचेतिकरण अभियानबाट नेपालगन्जमा इ–रिक्साहरुको गतिलो व्यवस्थापन हुने कुरामा आफुहरु ढुक्क रहेको नगरका उप–प्रमुखकमरुद्दिन राई बताउँछन् । ‘हामीले अहिले यसको सुरुवात गरेका छौं । अहिले हामीलाई केहि समस्या पनि आएका छन् । तर, निकट भविष्यमा यसको गतिलो समाधान भने पक्कै हुने छ ।’
उनले, नगरमा जथाभावी इ–रिक्सा चलाउँदा नियमन र अनुगमनसंगै अभिलेखीकरणमा पनि समस्या भएको भन्दै यसको समाधानका लागि नेपालगन्ज उप–महानगरपालिकाले दर्ता प्रक्रियामा ल्याउन थुपै पटक जानकारी गराईसकेको बताए ।
‘भारतबाट किनेका इ–रिक्सामा नेपाली नम्बर प्लेट, निजी प्रयोजनका लागि भनेर किनिएका रिक्सा सार्वजनिक साधनका रुपमा प्रयोग तथा रातो नम्बर प्लेटलाई आफूखुसी कालो बनाएर चलाउनेहरुको ठूलो संख्याका कारणपनि यहाँ सुरुवातमा अलि कठीन भने पक्कै छ । तर, पनि यसको सुरुवात गरेसंगै हामीले थुप्रैबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । यसखालको प्रतिक्रियाले हामीलाई यो काम गर्नैपर्छ भन्ने कुराको नैतिक बल दिन्छ ।’
नगरले केही दिन सचेतनामूलक अभियान चलाउने छ । त्यपछि इ–रिक्सा चालकलाई नगरको नीति र मापदण्ड अनुसार चल्न सचेत बनाउने छ । र दर्ता प्रक्रियापछि पार्किङ, रुट अनुमति लगायतका विषयमा योजनाबद्व हिसाबले नगर अघि बढ्ने उप–प्रमुख राईले बताए ।
इ–रिक्साहरुको व्यवस्थापनमा जुटिरहेको नगरको यस कदम प्रति स्थानीय इ–रिक्सा चालकहरुले पनि समर्थन जानएका छन् । आफुहरुलाई जसरी र जहाँ चलाएपनि पैसा कमाउन र रिक्सा चलाउन पाए हुने, स्थानीय रिक्सा चालक निदु बताउँछन् ।
‘हामीलाई रोजिरोटिको बाटो बन्द नगरे भैगो । बाँकी नगरपालिकाले कहाँ र कसरी हामीलाई व्यवस्थापन गर्छ भन्ने कुरामा हामीलाई खासै चासो छैन । बरु पार्किङ्ग सहज भइदिए मात्रै पुग्छ । किनभने हामीलाई थुप्रैपटक ट्राफिकले दुख दिईसकेको छ । जसरी हुन्छ यसको व्यवस्थापन होस अनि हामीलाई काम गर्ने सहज वातावरण होस भन्ने नै हाम्रो चाहाना हो ।’ नगरमा १२ हजार बढी रिक्सा सञ्चालनमा रहेका छन् । यी मध्ये हालसम्म २ हजार रिक्सा मात्रै राजश्व शाखामा दर्ता भएका छन् ।