खेलकुद विकास समितिले गर्यो दिपकलाई सम्मान
Monday, July 3rd, 2023, 9:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असार
बाँके जिल्ला खेलकुद विकास समितिले नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिपक सिंह ठकुरीलाई सम्मान गरेको छ । सोमबार नेपालगन्ज रंगशाला परिसरमा रहेको जिल्ला कार्यसमितिको कार्यालय परिसरमा बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिप जंग शाहले ठकुरीलाई सम्मान गरे ।
दिपक बाँके खजुरा गाउँपालिका वडा नम्बर २ निवासी खेलाडी हुन् । बाँके जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली फुटबल टिममा पर्ने उनी यस जिल्लाको पहिलो खेलाडी हुन् । नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउँदैं उत्कृष्ट प्रदर्शन गर्दै यस क्षेत्रको प्रतिष्ठा बढाउने काम गरेको भन्दैं दिपकलाई सम्मान गरिएको जिल्ला अध्यक्ष सन्दिपले बताए । उनले भने,‘दिपक यस क्षेत्रको गहना हुन । उनले बाँके जिल्ला मात्रै नभएर यस क्षेत्रको मान सम्मानलाई बढाएका छन् । उनको हौसला बढाउन पनि यो सम्मान गरिएको हो ।’
दिपकलाई सोमबार नगद पाँच हजार सहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बाँके जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, प्रशिक्षकहरुको सहभागिता रहेको थियो । सन्दिप जंग शाहको नेतृत्वमा बाँके जिल्ला खेलकुद विकास समिति गठन भएको करिब १ वर्ष पुग्यो । यस अवघिमा बाँके जिल्लाले दुई पटक लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा च्याम्पियन बनेको छ । यसैगरी सुदुरपश्चिममा भएको प्रदेश स्तरीय फुटबलमा लुम्बिनी प्रदेश प्रथम हुन सफ भएको थियो । लुम्बिनी प्रदेश प्रथम हुँदा बाँकेका सात खेलाडीले खेलेका थिए । आफुले कार्यभार सम्हालेपछि बाँकेका आठ पालिकासँग सहकार्य गरेर १६ सय बालिकालाई सेल्फ डिफेन्सको प्रशिक्षण लगायतका अन्य खेलकुद गतिविधि गर्ने योजना सहित अगाडी बढेको शाहले बताए ।