कन्सर्टबाट भएको आम्दानी भुकम्प प्रभावितलाई सहयोग गरिने
Saturday, November 4th, 2023, 5:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ कात्तिक
नेपालगन्जमा कात्तिक २४ गते हुन लागेको ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्टबाट भएको आम्दानी जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट प्रभावित भएका परिवारलाई सहयोग गरिने भएको छ ।
कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको उक्त कन्सर्टमा पप गायक सुनिल सिंह ठकुरी र स्थानीयले कलाकारले आफनो प्रस्तुती राख्ने तयारी गरिरहेका छन् । सुनिलको पहिलो पटक आफनो गृह जिल्लामा एकल कन्सर्ट हुन लागेको हो ।
यसअघि उक्त कन्सर्ट आयोजनाबाट भएको आम्दानी दृष्टिविहिन बालबालिकालाई सहयोग गर्ने भनिएको थियो । तर गत शुक्रबार राती गएको भुकम्पबाट जाजरकोट र पश्चिम रुकुममा धेरै मानवीय क्षेत्र भएकोले प्रभावित क्षेत्रका जनताको लागि लागि सहयोग गरिने गायक सुनिल सिंह ठकुरीले बताए ।
प्रभावित जिल्लामा गएर जिल्ला प्रशासन कार्यालयको अनुमति र समन्वयमा सहयोग गरिने आयोजक कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताए ।
आगामी कात्तिक २४ गते रामलीला मैदान नेपालगन्जमा हुने कन्सर्टमा स्थानीय म्युजिक ब्यान्ड आवाज द ब्यान्ड, स्थानीय कलाकारको एकल तथा सामुहिक नृत्य लगायतको प्रस्तुती रहनेछन् ।
कार्यक्रमको दिन रामलीलाला मैदानमा फुड स्टल समेत राखिनेछ । कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको कन्सर्टमा स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । जहाँ ठकुरीसँगै स्थानीय कलाकारले आफनो प्रस्तुती प्रदर्शन गर्नेछन् । कन्सर्टको सोसियल मिडिया पार्टनर नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्र भित्र अनलाईन पोर्टल रहेको छ । कन्सर्ट नेपालगन्ज ग्यालरी मार्फत लाईभ देखाइनेछ । गायक तथा संगीतकार समेत रहेका ठकुरीले दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल उनी जापानमा बस्दै आएका छन् ।
पहिलो एल्बम ‘क्रेजी ह्याट’ मार्फत उनले गायन क्षेत्रमा डेब्यु गरेका थिए । ठकुरीको पहिलो एल्बममा रहेको ‘भुली भुली देउ’ गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो । ठकुरीले गाएका गीत मध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित बनेका थिए । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो । उक्त गीत मार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगद सहित पुरस्कृत गरेको थियो ।