नेपालगन्ज म्याराथनमा कोर्स ब्रेक गर्नेलाई लण्डन म्याराथनको अवसर
Thursday, November 23rd, 2023, 6:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ मंसिर
नवौं धारा नेपालगन्ज म्याराथनमा रेकर्ड बनाउने धावकले लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन् । नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले गतवर्ष एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको र गतवर्षको रेकर्ड ब्रेक गर्ने धावकलाई लण्डन म्याराथनमा सहभागी गराइने बताए । त्यसका लागि धारा नेपालगन्ज म्याराथन र नेपाल रन युकेबीचमा समझदारी भएको छ । लण्डन म्याराथन संसारकै ६ वटा शीर्ष म्याराथनभित्र पर्दछ । यहाँ दौड्ने जुनसुकै धावकको सपना हुने गर्दछ ।
नेपालगन्जमा म्याराथनको पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ । म्याराथन विजेताले दुई लाख रुपैया पाउने भएक छन् । गतवर्ष एक लाख पचास हजार रुपैया दिइएको थियो । दोस्रो स्थानका लागि एक लाख, तेस्रोलाई ५० हजार, चौथोलाई २५ हजार, पाँचौलाई १५ हजार, छैठौलाई १० हजार, सातौ र आठौलाई ५ः ५ हजार पुरस्कार राखिएको छ ।
हाफ म्याराथन (महिला)मा प्रथम हुनेले ७५ हजार रुपैया पुरस्कार पाउने छन् । दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौले १० हजार, छैठौ, सातौ र आठौलाई ५÷५ हजार पुरस्कार राखिएको छ । १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार रुपैया पुरस्कार राखिएको छ । स्कूलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीन जनालाई ५ हजार, तीन हजार र दुई हजार दिइने छ ।
यसमा बाँके र जिल्ला बाहिरका विद्यार्थीलाई समेटिएको छ । कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षाको अलगअलग स्थान निकालिएको छ । ह्वीलचियर दौडमा पनि पुरुष तथा महिलातर्फ शीर्ष तीन जनालाई पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार राखिएको छ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गर्ने ठकुरीले जानकारी दिए । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मान गर्ने तयारी गरिएको छ । नेपालगञ्ज म्याराथन मंसिर ९ गते हुनेछ । नेपाल सरकार र तत्कालिन सशस्त्र माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगञ्ज म्याराथन हुँदै आएको छ ।
यसैबीच, म्याराथनको अघिल्लो दिन नेपालगञ्ज कनक्लेभ हुने भएको छ । नेपालगञ्ज कनक्लेभका निर्देशक एवं सिलापत्र डटकमका सम्पादक जनक नेपालका अनुसार, शुक्रबार विहान सवा ९ बजेदेखि अपरान्ह ५ बजेसम्म विभिन्न ६ वटा शीर्षकमा कनक्लेभ हुने भएको छ ।