विविध कार्यक्रम गरेर मनाईदैछ एड्स दिवस
Thursday, November 30th, 2023, 6:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ मंसिर
‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं’ भन्ने मुल नाराका शुक्रबार आज विश्व एड्स दिवस मनाईदैछ । एड्स दिवसको पुर्व सन्ध्यामा बिहिबार बाँकेका पत्रकार र सरोकारवाला निकायबिच अन्तरक्रिया भएको छ । जसमा एड्स रोगको बारेमा आम नागरिकलाई जागरुक बनाउने कुरामा छलफल भएको थियो ।
नेपालगन्ज उप–महानगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा एड्स रोगका बारेमा काम गरिरहेका संघ–संस्था र विज्ञहरुले विभिन्न जानकारी, तथ्याङ र आगामी रणनीतिका बारेमा अवगत गराएका थिए । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउँने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ मा एड्स दिवस मनाउने गरिएको छ । शुक्रबार बाँकेमा पनि ३६औं एड्स दिवसको अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने तयारी गरिएको नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताए ।
१०९ जनालाई एचआइभी पोजेटिभ
बाँकेमा थप १०९ जनालाई एचआइभी पोजिटिभ देखिएको छ । आर्थिक वर्ष २०७९ र ८० मा १७ हजार ३ सय २८ जनामा एचआइभी परीक्षण गर्दा १०९ जना पोजिटिभ भेटिएका हुन् । त्यस अघिको वर्षमा ११ हजार ७४५ को परीक्षण गर्दा १५७ संक्रमित फेला परेका थिए ।
स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र साहका अनुसार बाँकेमा अहिले ५५६ जना एचआइभी संक्रमितले एआरटी सेवा लिइरहेका छन् । ५५६ मध्ये ४१० जना बाँके जिल्लाकै हुन् । नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा बिहिबार नेपालगन्जमा आयोजना गरिएको पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक प्रस्तुत गरिएको हो ।
भेरी अस्पतालमा सन् २००४ देखि एआरटी सेवा सुरु भएको हो । सरकारले एआरटी सेवा निःशुल्क रुपमा प्रदान गरिरहेको छ । बाँकेमा एचआइभी एड्सबाट हालसम्म १७२ जनाको मृत्यु भएको तथ्यांक छ । भेरी अस्पताल नेपालगन्जका एचआइभी फोकल पर्सन डा. संकेत रिसालले भेरी अस्पतालमा २० नम्बर कोठाबाट रोग पहिचान, परामर्श र निःशुल्क औषधि वितरण गरिरहेको बताए । उनले परामर्शकर्ताद्वारा नियमितरूपमा गोप्य परामर्श दिइरहेको जानकारी दिए । उनले भने, ‘गुम्सिएर नबसौं, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेर नियमित औषधि सेवन गरे रोग नियन्त्रण हुन्छ । उपचार सम्भव छ ।’
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बाँकेमा एड्स संक्रमण दर घट्दो क्रममा रहेको बताइन् । नेपालगन्ज उप–महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले समाजमा एड्सप्रतिको नकारात्मक धारणा परिवर्तन हुँदै गएको बताउँदै समुदायस्तरमा परीक्षण र काउन्सिलिङलाई व्यापक बनाइएको जानकारी दिए ।

…………
चन्दले नेपालगन्ज उप–महानगरपालिकाले एचआइभी संक्रमितलाई प्रोत्साहन भत्ता समेत दिँदै आएको बताए । एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले बाँकेमा एचआइभी संक्रमणदरमा उल्लेख्य सुधार भएको बताए ।
नेपालगन्जमा शुक्रबार सचेतनामूलक ¥याली निकालिँदैछ । भेरी अस्पतालबाट विहान साढे ७ बजे निस्कने र्याली बसपार्क पुगेर समापन हुने नेपालगन्ज उप–महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विनोद विकले बताए । नेपालमा ३० हजार एचआइभी संक्रमित छन् । वयश्क जनसंख्याको ०.१२ प्रतिशतमा एचआइभी संक्रमण दर छ ।