राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : क्वाटर फाईनलका खेलहरु सम्पन्न
Friday, January 26th, 2024, 9:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ माघ
नेपालगन्ज रंगशालास्थित कर्वड हलमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगितामा आज क्वाटर फाईनलका खेलहरु सम्पन्न भएका छन् । जसअन्र्तगत विभिन्न विधामा गरि ३२ जना खेलाडीहरु सेमिफाईनलमा प्रवेश गरेका छन् ।
शुक्रबार सम्पन्न खेलहरुमा पुरुष एकलतर्फ एपिएफका प्रिन्स दहालले एपिएफकै क्षितिज खनाललाई २१-१६,२१-१२ ले तथा नेपाल प्रहरीका जिवन आचार्यले एपिएफका रोशन साउदलाई २१-१७, २१-१८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी एपिएफका अमन महर्जनले एपिएफकै सुजन थापालाई ९-२१, २१-१८,२१-१५ ले तथा नेपाल आर्मीका कविर केसीले नेपाल प्रहरीका विष्णु कटवाललाई २१-१६, २१-१५ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
यस्तै महिला एकलतर्फ नेपाल आर्मीकी रशिला महर्जनले सेन्ट थोमस बाँकेकी कृपा शाक्यलाई २१-३,२१-४ ले तथा नेपाल प्रहरीकी नीता लम्सालले बाँकेकी एसी श्रेष्ठलाई २१-६, २१-५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी कैलालीकी एलिना सुनारले नेपाल प्रहरीकी सुष्मा श्रेष्ठलाई २१-८, २१-१८ ले तथा एपिएफकी शोभा गौचनले सुर्खेतकी निशा सिंहलाई २१-७, २१-१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
यसैगरी, पुरुष युगल(बी लेभल) तर्फ धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडिले दाङका कमल चन्द र विशाल सुवेदीको जोडिलाई २१-१०,२१-१४ ले तथा नेपाल प्रहरीका चक्रबहादुर डम्बर पाल र अविक श्रेष्ठको जोडिले टिकापुरका सुरज वैदार र राजन शेरचनको टोलीलाई २१-१२, २१-१२ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी गुलरियाका सरद खड्का र अनुपम न्यौपानेको जोडीले सुर्खेतका हिमाल लामा र दुर्गा रानालाई २१-१४, २१-१४ ले तथा सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीले अर्जुन बुढामगर र पदम चन्दको जोडीलाई २१-१०, २१-१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडीले नेपाल प्रहरीका दिपक बोहरा र अविक श्रेष्ठको जोडीलाई २१-१८,२१-१७ ले तथा एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले नेपाल प्रहरीका गौरव दाहाल र पूणर्बहादुर थापाको जोडीलाई २१-१२, २१-१७ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीले कविर केसी र अनिल मल्लको जोडीलाई २१-१५, २१-१४ ले तथा नेपाल प्रहरीका जिवन आचार्य र विष्णु कटवालको जोडीले राजु थापा र सुजन थापाको जोडीलाई २१-१६, २१-१९ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
पुरुष युगल (भेट्रान्स ४५ प्लस) बाँकेका अभयलाल श्रेष्ठ र अरुण गौतमको जोडीले बर्दियाका गोविन्द क्षेत्री र प्रनेश ढकालको जोडीलाई २१-१६,२१-१८ ले तथा बाँकेका अनिल लाखे र जयन्त श्रेष्ठको जोडीले सुरेश बम र रामप्रसाद भुषालको जोडीलाई २१-१३, २१-८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी स्टारलाईटका हरि खत्री र राजकुमार पोखरेलको जोडीले कैलालीका भोजराज भट्ट र नरेन्द्र चन्दको जोडीलाई २१-१६, २१-१७ ले तथा बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडीले सुर्खेतका केशर ओसी र दुर्गा रानाको जोडीलाई २१-१६, १८-२१, २१-१६ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
मुख्य रेफ्रि किरण कारञ्जितका अनुसार सेमि फाइनल र फाईनलका लागि भोली शनिबार १५ वटा खेल हुनेछन् । उक्त खेलबाट छनोट भएका खेलाडी उपाधिका लागि फाईनलमा भिड्नेछन् ।
नकआउट आधारमा भइरहेको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपिएफ तथा नेपाल पुलिस सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिव २ सय ५० जना खेलाडीको सहभागीता रहेको छ । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याटमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।
बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिव २ सय ५० जना खेलाडी सहभागी भएको बताउनुभयो । अध्यक्ष थापाले पछिल्ला वर्षहरुमा खेलाडीहरुको उपस्थिती कम हुदैँ गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको समापन समारोह शनिबार दिउँसो ३ बजे हुनेछ भने प्रमुख अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहनुभएकोछ ।
प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ । प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार पाउनेछन् ।
महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गर्नेछन् । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार पाउँनेछन् ।
यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार पाउनेछन । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।