सहकारीहरुमा वित्तीय सुशासन कायम गर्न लेखापालन तालिम
Saturday, January 27th, 2024, 5:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ माघ
नेपालगन्ज उप-महानगरपालिकाले सहकारीहरुमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिएको छ । नेपालगन्ज उप-महानगरपालिकाको सहकारी शाखाको आयोजनामा सात दिने तालिम दिइएको हो । नेपालगन्ज उप-महानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारीका लेखा कर्मचारीहरुलाई तालिम दिइएको हो । ४० वटा सहकारीका ४० जना लेखा कर्मचारीहरुलाई तालिम दिइएको सहकारी शाखा प्रमुख प्रविण रानाले बताए ।
तालिम समापन कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आर्थिक कारोबारमा अभिलेख दुरुस्त हुनुपर्ने बताए । खड्काले राम्रो गर्नेलाई सम्मान र खराबलाई कारवाहीको दायरामा ल्याइने बताए । उनले सहकारी सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गरे । आर्थिक विकास समिति संयोजक गोपाल पुनले सहकारीहरुको लेखा पाटोलाई व्यवस्थित बनाउन तालिम लाभदायी हुने विश्वास व्यक्त गरे । तालिमले आत्मबल बढाउने उनको भनाई छ । पुनले सहकारी राज्यको अर्थतन्त्रको महत्त्वपूणर् खम्बा भएकाले यसप्रति जनविश्वास बढ्ने गरी काम गर्न जरुरी रहेको बताए ।
जिल्ला सहकारी संघका प्रवन्ध संचालक एवं तालिमका प्रशिक्षक नवराज उपाध्यायले संस्थागत सुशासनका लागि संचालित तालिम महत्त्वपूणर् कदम भएको बताए । त्यस अवसरमा प्रशिक्षार्थीहरु श्रीराम पाल र चन्द्रा आचार्यले तालिम फलदायी भएको बताउँदै लेखा चुस्तदुरुस्त राख्न अझ सहज हुने बताए । सहकारीहरुको वित्तीय सुशासन कायम गर्ने, पछिल्लो समय गुम्दै गएको सहकारीप्रतिको विश्वास पुनः जागृत गर्ने, लेखा व्यवस्थित राख्न सहयोग गर्ने तथा नयाँ सहकारीलाई लेखा व्यवस्थापनसम्बन्धि आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सहकारी शाखा प्रमुख रानाले बताए । तालिममा सहभागीलाई खड्का, पुन र उपाध्यायले प्रमाणपत्र वितरण गरेका थिए ।
तालिममा नेपालगन्ज उप-महानगरपालिकाका लेखा अधिकृत राजनकुमार केसी, सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक उपाध्याय र नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमालाले प्रशिक्षण दिनुभएको सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताइन् ।