चिडीमार समुदायमा बेरोजगारीले निम्तयाइरहेको समस्या
Sunday, February 11th, 2024, 10:00 am
Kalpristha
सुकराम चिडीमार
नेपालगन्ज, २७ माघ
नेपालगञ्ज उपमहानगरपालिका वडा न. १२ का ३४ वर्षिय चिन्ताराम चिडिमार चिन्तामै देखिन्छन । काम बिहीन भएपछि उनमा अनेकन तर्कना खेल्छन । आर्थिक स्थिती कमजोर रहेका चिन्ताराम दिनभर चिन्तामै डुबीरहेका हुन्छन् । जीवन कसरी चलाउने होला, छोरा छोरीहरुलाई कसरी पढाउने होला ? उनमा यस्तै प्रश्नहरु आउछन् । पुर्खाहरुले चरामार्ने पेशा गरेर जीवन निर्वाह गरे तर अहिले त्यो पेशा लोप भइसकेका ेछ । कुनै सिप नभएपछि उनले अन्य काम पनि गर्न सकेका छैनन् । न रोजगारी, न काम, कसरी बाँच्ने ? उनले प्रश्न गरे । आम्दानीको नियमित श्रोत नपाएपछि अब उनले बैदेशिक रोजगारीमा जाने निधो गरेका छन् । तर त्यसका लागि पनि पैंसा छैन ।
उनी कक्षा ५ सम्म बागेश्वरी आधारभूत विद्यालयमा पढेका थिए । अहिले उनी, आमा, दुई छोरी सहित बस्दै आएका छन् । एक छोरी कक्षा ३ मा र अर्को छोरी कक्षा १ मा पढछन् । सिलिण्डर ढुवानी गरेर जेनतेन जीवन चलाउदै आएका छन् । उनकाअनुसार चिडीमार समुदायका अधिकांस यूवाहरु आफु जस्तै बेरोजगार छन । बेरोजगारकै कारण कुलतमा पनि फस्दै गएका छन् । समुदायका मुख्य समस्याका रुपमा रहेको छ, बेराजगाी । बेरोजगार भएपछि मान्छे बिग्रीने सम्भावना पनि उत्तिकै हुँदो रहेछ- उनको अनुभवसहितको भनाई छ । उनको भनाई अनुसार जो बेरोजगार छ, उसैले धेरै रक्सी खाईरहेको छ । विहानैबाट रक्सी खाने र अन्तमा र घरगएर परिवारलाई नै कुटपीट गर्ने गर्दछन् । यूवाहरुका लागि स्थानीय सरकारले नियमित आम्दानीको माध्यम खोज्दीए हुन्थ्यो जस्तो लाग्छ, उनलाई ।
नेपालगन्ज- १२ बेलासपुर बस्ने २३ वर्षिय खुसी चिडीमार पनि स्नातक तह सम्म पढेका छन तर कहीं कतै काम नपाएपछि निराश छन । लोक सेवामा पनि लडे तर नाम निस्केन । उनलाई पनि समुदायको मुख्य समस्या नै बेरोजगारी हो जस्तो लाग्छ । समुदायका अधिकांस मान्छे कामबीहिन छन । काम नभएपछि कुलतमा फस्ने लगायतका समस्याबाट पनि ग्रसित छन । बहेलिया चिडिमार विकास समाज बाँके अध्यक्ष तथा समुदायका अगुवा रामु चिडिमारको भनाई अनुसार चरा मार्ने पुस्तौनी पेशा लोप भएपछि पछिल्लो पुस्ता काम बिहिन भएको हो । केहीले खेतीपाती र मिस्त्रीको काम गरिरहेका छन् तर तिनलाई पनि खान पुग्दैन ।
सरकारी निकायमा चिडिमार समुदायका युवा युवतीहरुले अवसर पाएका छैनन् । समुदायमा पढेकाहरुले पनि जागीर नपाएपछि पढेर पनि के नै हुँदो रहेछ र भन्ने मानशिकता पनि बढदो छ । नेपालगन्ज- १२ बस्ने ३० वर्षिय अमर चिडीमारले सरकारी जागरिका लागि निकै प्रयास गरे तर अहिले सम्म नाम निकाल्न सफल भएका छैनन् । उनले लोकसेवा परिक्षा कृषि बिकास बैंक ४ तह ३ पटक र स्थानीय तह मा २ पटक परिक्षा दिए तर नाम ननिस्के पछि उनी करारको जागिर खाईरहेका छन् । त्यो जागिर पनि कुन दिने जाने हो भन्ने चिन्तामा छन् । उनको ७ जनाको परिवार छ । उनकै कमाइले जेनतेन चलीरहेको छ ।
चिडीमार यूवाहरु मदिराको लतमा फस्दै गएका छन् । खुल्ला रुपमा हुने मदिरा बेचन बिखनले गर्दा पनि विहान देखि साझ सम्म मदिरा पिउने र घरमा गई श्रीमती तथा बालबच्चासँग झै झगडा गर्ने गर्दछन् ।
नेपालगञ्ज उपमहानगर पालिका कार्य पालिका सदस्य तथा चिडिमार समुदायका अगुवा विक्रम चिडिमार समुदायका धेरैले ग्यारेजमा काम गर्ने, घर बनाउने, खेतीपाती गर्ने, सानो तिनो व्यापार गर्ने गरिरहेको बताउँछन् । बस्तीमा धेरै जसो ऐलानी जग्गामा बसोबास गरिरहेका छन । केहीले जग्गाको लाल पुर्जा पाएका छन तर घरको अंशबण्डा हुदाँ एउटा कोठा भाग पर्ने अवस्था छ । जग्गाको लाल पुर्जाको व्यवस्था गरिनु पर्ने आवश्यक्ता देख्छन- वडा सदस्य चिडीमार ।
समुदायका लागि भनेर थुपै संघ सस्थाले बिगतमा लगानी पनि गरे तर प्रतिफल सोचे अनरुप नआएपछि सबैले हात छोडदै गएको स्थिती छ । कतिपय संस्थाले राम्रो पनि गरेका छन । सामाजिक विकास मञ्चका पावर परियोजनाका अधिकृत बृजेश ठाकुरका अनुसार किशोर किशोरीहरुको लागि २२ हप्ते जीवन उपयोगी तालिम दिए पछि अहिले त्यो समुदायका किशोर किशोरीहरु आफै निणर्य गर्ने अवस्थामा पुगेका छन् । १० जना युवा युवतीहरुलाई व्यवसायीक तालिम दिएर १० लाख लगानी गरिएको छ । जसले गर्दा उनीहरु व्यापार गर्ने भएका छन् ।
नेपालगञ्ज उपमहानगर पालिका वडा.न.१२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्य बेरोजगारलाई रोजगार दिने खालका कार्यक्रम लयाउन जरुरी रहेको स्वीकार्छन । सरकारले लोकसेवामा चिडीमारका लागि छुटटै सिटको व्यवस्था गर्न पर्ने सुु्झाव दिन्छन् । नेपालगञ्ज उपमहागर पालिकाका प्रमुख तथा मेयर प्रशान्त विष्ट युवा युवतीहरुलाई निशुल्क रुपमा सीप मुलक तालिम सिलाइ कटाइ, अचार, मोमबत्ती लगायतका तालिम दिदै आएको बताउँछन । तर समुदायका चिडीमार यूवाहरु तालिम भन्दा पनि बेराजागार दुर हुने अवस्था लयाउनु पर्ने माग गर्दछन् ।