भाडा नबुझाउने सटरमा उप–महानगरले लगायो ताला
Friday, April 19th, 2024, 4:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ वैशाख
नेपालगन्ज उप–महानगरपालिकाले सटरको भाडा बुझाउन अटेरी गर्ने पाँच सटरमा ताला लगाएको छ । पाँच वटा सटरबाट उप–महानगरपालिकाले करिब २१ लाख ८५ हजार रकम राजस्व उठाउन बाँकी रहेको छ ।
बिहिबार नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्का, राजश्व शाखाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी, पसलका प्रतिनिधिहरुको उपस्थितीमा सटरमा ताला लगाइएको थियो ।
ताला लगाईएका सटर धनीहरुलाई आफुले बुझाउन बाँकी रहेको रकम सात दिन भित्र बुझाउन समय दिएको नेपालगन्ज उप–महानगरपालिका राजश्व शाखाकाक अधिकृत दिपेन्द्र श्रेष्ठले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘सटरको राजश्व बुझाउन आनाकानी गर्ने, नबुझाउने सटरलाई सुरुआतमा कारबाही गरिएको हो । सात दिन भित्र उहाँहरुले तिर्नुपर्ने राजश्व बुझाउनु भयो भने ताला खोलिन्छ । तर सात दिनभित्र रकम नबुझाएको अवस्थामा नेपाल सरकारको प्रचलित कानुन अनुसार प्रक्रिया अगाडी बढाईन्छ ।’

…………….
नगरपालिकाले निर्माण गरेका सटर भाडा लिएकाहरुले ३ वर्ष देखि उप–महानगरपालिकालाई भाडा बुझाएका छैनन । भाडा नबुझाउने सटरहरुको संख्या बढ्दै गएपछि उप–महानगरपालिकाले कडाई गर्दै गएको छ । यसअघि पनि समयमै भाडा नबुझाउने सटरधनीहरुलाई पटक–पटक पत्राचार गरिएपनि उनीहरुले शुल्क बुझाउन अटेरी गरेको अधिकृत श्रेष्ठले बताउनु भयो ।