कोशेली घरमा कात्तिक १८ र १९ गते ‘तिहार उत्सव–२०८३’ हुँदैं
Tuesday, November 3rd, 2026, 8:06 am
Kalpristha
सुनिता श्रेष्ठ
नेपालगन्ज, १७ कात्तिक
स्वदेशी अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्न यसपटक पनि महिला उद्यमी संघ नेपाल बाँकेले संचालन गरिरहेको कोशेली घरले ‘तिहार उत्सव–२०८३’ को आयोजना गर्ने भएको छ । यही कात्तिक १८ र १९ गते नेपालगन्ज–०२ मा रहेको कोशेली घर परिसरमा आयोजना गरिने ‘तिहार उत्सव–२०८३’ मा बाँकेका महिला उद्यमीहरुले उत्पादन तथा निर्माण गरेका विभिन्न वस्तु तथा सामाग्रीहरु बिक्री वितरणको लागि स्टल राखिनेछन् ।
महिला उद्यमी संघ नेपाल बाँकेले संचालन गरिरहेको कोशेली घर नेपालगन्जले गत वर्ष देखि तिहारलाई लक्षित गरेर महिला उद्यमीका घरायसी वस्तु तथा सामाग्रीलाई प्रवद्र्धन गर्न उत्सवको आयोजना गर्ने गरेको छ ।
‘तिहार उत्सव–२०८३’ मा विशेषगरी पुजाका सामाग्री, खानेकुराका परिकार, श्रंगारका सामान, हस्तकला सामाग्री, लुगा कपडा, पुष्पमालाहरु, घर सजावटका सामाग्री तथा अर्गानिक खाद्यन्न तथा सामाग्रीहरुको बिक्री वितरणको लागि राखिने महिला उद्यमी संघ नेपाल बाँकेले जनाएको छ ।
यसपटक करिब १५ वटा स्टलहरु राख्ने तयारी भएको आयोजकले जनाएको छ । स्टल राख्नको लागि यसपटक सरकारी कार्यालय वा सरकारी निकायमा दर्ता भएका संस्था तथा फर्म र खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुमति पत्र पाएका व्यवसायीलाई आमन्त्रण गरिएको छ ।
महिला उद्यमीलाई प्रोत्साहन गर्दै तिहारमा चाहिने सामाग्रीहरु एक ठाउँमा उपलब्ध गराउन उत्सवले सहयोग गर्नेछ । साथै ‘तिहार उत्सव–२०८३’ले स्वदेशी उत्पादनको बजारीकरण गर्न, नेपाली संस्कृतिलाई चिनाउने परिकार तथा सामाग्री प्रवद्र्धनमा सहयोग गर्ने आयोजकले विश्वास लिएको छ । स्टलमा राखिएका वस्तु तथा सामाग्रीहरु पछि मागको आधारमा कोशेली घर नेपालगन्जमा बिक्री वितरणको लागि राखिनेछ ।
महिला उद्यमी संघ नेपाल बाँकेले एक दशक देखि महिला उद्यमीहरुले उत्पादन गर्दै आएका वस्तु तथा उत्पादनको बजारीकरणको लागि लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हरेक वर्ष आयोजना गर्दै आएको छ । जसले महिला उद्यमीलाई व्यापार, व्यावसाय तथा उद्यमशीलता तर्फ आर्कषित गर्न सहयोग गर्दै आएको छ ।