नेपालगन्ज एमाले नगर कमिटी नेतृत्वमा उषा थापा भण्डारीको घोषणा
Friday, April 26th, 2024, 7:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, वैशाख १ गते
नेकपा एमाले नेपालगन्ज उप–महानगरपालिका कमिटीको दोस्रो अधिवेशन आइतबारदेखी सुरु हुदैछ । दुइ दिन सम्म चल्ने अधिवेशनले नगरको नयाँ नेतृत्व चयन गर्नेछ । वैशाख १६ र १७ गते हुने लागेको अधिवेशन मार्फत नयाँ नेतृत्वका लागि विभिन्न नेताहरुले आफनो उम्मेदवारी प्रस्तुत गरिरहेका छन् । त्यसको अधिकाश पुरुषहरुको नाममा चर्चामा छ ।
तर नेकपा एमालेको नगर कमिटीको नेतृत्वका लागि सामाजिक क्षेत्रमा सक्रिय महिला नेतृ उषा थापा भण्डारीले आफनो उम्मेदवारी घोषणा गर्नु भएको छ । पार्टी र समाजिक क्षेत्रमा आफुले गरेको योगदानका कारण आफुले उम्मेदवारी दिएको उषा थापा भण्डारीले बताउनु भयो । उहाँले भन्नु भयो,‘नेकपा एमाले नगर कमिटीको नेतृत्वका लागि सक्षम छु ।
पार्टीका साथीहरुले साथ सहयोग र विश्वास गर्नु भयो भने नगर कमिटीलाई नयाँ उचाईमा लग्ने विश्वास दिलाउन चाहन्छु ।’ पार्टीको विभिन्न तहमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएकी उषा सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । शिक्षक, पत्रकारिता, सहकारी, खानेपानी, उद्योग व्यवसायीको क्षेत्रमा उहाँले विभिन्न पदमा रहेर काम गर्नु भएको छ ।
२०५२ देखि २०६१ सालसम्म श्री जय जनता माविमा शिक्षकको रुपमा काम गर्नु भएको उषाले २०६० देखि २०६८ सालसम्म महिला हिंसा मुक्त सामुदायिक अभियानको अध्यक्ष भएर बाँके जिल्लाका विभिन्न ठाउँमा काम गर्नु भएको छ । उहाँले नेपालगन्जको राझामा रहेको अग्रगामी महिला तथा बचत ऋण सहकारी संस्थाको संस्थापक अध्यक्षको रुपमा नेतृत्व गरेर संस्थालाई चलायमान गराउनु भएको थियो । संस्थापक अध्यक्षको रुपमा जिम्मेवारी बहन गर्दै अग्रगामी महिला तथा बचत ऋण सहकारी संस्थाको आफनै भवन निर्माण गर्न उहाँ सफल हुनु भएको थियो ।
२०७६ देखि २०७९ सम्म नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर उषाले व्यवसायीको हकहितको क्षेत्रमा काम गर्नु भएको थियो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेको जिल्ला उपाध्यक्ष हुँदैं खानेपानी तथा सरसफाई महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष भएर उषाले काम गर्नु भएको छ ।
हाल नेकपा एमाले नगर कमिटी उप–सचिव रहनु भएको उषा भण्डारी थापाले पार्टीको विभिन्न पदमा सम्हालीसक्नु भएको छ । नेकपा एमालेको विभिन्न कमिटी, जनवर्गिय संगठन, नेपाल उद्योग व्यवसायी महासंघ जिल्ला उपाध्यक्ष, नेकपा एमाले नगर संगठन विभाग प्रमुख, नेकपा एमाले महिला विभाग प्रमुख, ग्रासरुट अभियानमा नेपालगन्जको १३ नम्बर वडा को उप–संयोजक भएकार उहाँले काम गर्नु भएको थियो ।
उषा थापा भण्डारीसँगै नेकपा एमाले नेपालगन्ज उप–महानगरपालिको नेतृत्वको लागि बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् नेकपा एमाले नगर कमिटि सचिव मोहित शाह, मिन मल्ल, भाष्कर काफले र भीम कडेलको नाम पनि चर्चामा छ ।

…………