बाँकेका सिडियो एक साता देखि काठमाडौंमै
Monday, May 13th, 2024, 7:57 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ३१ वैशाख
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सुटुक्क जिल्ला छाडेको प्रसंगले यतिबेला सामाजिक संजाल तातिएको छ । प्रमुख जिल्ला अधिकारी भएर आएकै दिनदेखि सामाजिक संजालमा सक्रिय रहेका पोखरेलले खबरै नगरि जिल्लाबाट बाहिरिंदा सामाजिक संजालमा यतिबेला उनको चर्को आलोचना भईरहेको छ । बाँकेबासीले उनको यो हर्कतलाई शंकाको नजरले हेरेका छन् ।
आफुले गरेका साना–ठुला सबै कामलाई सामाजिक संजाल मार्फत प्रचार–प्रसार गर्न खप्पिस उनी बाँके छोड्दा भने सुचना वा जानकारी त परै जाओस निमित्त प्रमुख जिल्ला अधिकारीका रुपमा कसैलाई जिम्मेवारी समेत नदिई बाहिरिएको भन्दै चौतर्फी आलोचना भईरहेको छ ।
झण्डै एक साता देखि बाँके छाडेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्ला प्रशासन कार्यालयको फेसबुक एकाण्ट भने लगातार चलाएका छन् । यसले उनको आलोचना झनै बढाएको छ । नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाहले सिडियो प्रति लक्षित गरेर आफनो भनाई सार्वजनिक गर्नु भएको छ । उहाँले लेख्नु भएको छ, ‘शान्ति सुरक्षा र प्रशासनिक काममा जिरो फेसबुकमा खुब भौकाल । सेलिब्रटी बन्ने दाउमा सिडियो अफिसको फेसबुक वालमा पेन्ट लगाईयो । घुमफिर र बोटिङ्ग खुब गरियो । विरुवामा पानी हालियो । जाँदा सुटुक्कै के हो यस्तो ?’
पत्रकार शरण कर्माचार्यले समेत सिडियोको यो हर्कतलाई शंकस्पद भनेका छन् । साथै उनले बाँकेबासीले यसको जवाफ समेत खोजिरहेको कुरा फेसबुकमा लेखेका छन् । बिदा र काज स्वीकृत नगराई बाँके छाडेका उनले छाडेको एकसाता पछि गृह मन्त्रालयको जिम्मेवारी छाडेको जिल्ला प्रशासनकै फेसबुकबाट जानकारी दिएका छन् ।
यता गृह मन्त्रालय छाडेको जानकारी गराउँदै उनले आफ्नो कार्यकालमा गरेको २८ बुँदे सफलताका कुराहरु सहित फेसबुकमा हालेको सामाग्री, पोष्ट गरेको २ घण्टामा हटेको छ । उनले पछि हटाइएको सामाजिक संजालमा स्वेच्किरुपमा गृह मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णयका साथ प्रक्रिया सुरु गरेको जनाउनु भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुकमा लेखिएको थियो, ‘यहाँहरुको सहयोग र सद्भावका लागि आभारी छु । कृतज्ञ छु । मैले मेरो कार्यकाललाई यसरी सम्झन्छु । भुल भएको भए क्षमा प्रार्थि छु ।’
बाँकेमा निमित्त प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले सिडिओको सरुवा भएको पत्र कार्यालयमा नआइपुगेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी एक साता अघि देखि काठमाडौंमा रहेको निमित्त प्रमुख जिल्ला अधिकारी जोरा सिंहले बताउनु भयो ।