एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित
Monday, May 20th, 2024, 10:25 am
Kalpristha
कमल खत्री
नेपालगन्ज, जेठ ७ गते
नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनु भएको छ । सोमबार घोषणा गरिएको मतगणना अनुसार निरक गुरुङले २ सय ९१ मत प्राप्त गर्नु भएको छ । उहाँका निकट्तम प्रतिद्धन्द्धी डिल्ली विसीले १ सय ५४ मत पाउनु भयो । गुरुङले १ सय ३७ मतको अन्तरले विसीलाई हराउनु भएको हो ।
यसैगरी उपाध्यक्षमा रत्न खत्री विजयी हुनु भएको छ । खत्रीले ३ सय १३ मत पाउँदा उहाँका प्रतिस्पर्धी रबिन्द्र लम्सालले १ सय ३८ मत पाउनु भएको छ ।
सचिव पदमा बलराम भंटराईले १ सय ३९ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी खिल प्रसाद भुषालले १ सय १७ मत, भीम ओलीले ९५ र दत्त प्रसाद आर्चायले ८८ मत पाउनु भएको छ ।
महिला उपमहासचिव तर्फ निर्मला सुनारले १ सय ९८ मत सहित जित हासिल गर्नु भएको छ । उहाँको निकटम प्रतिस्पर्धी शारदा विश्वकर्माले १ सय ३४ र रचना श्रेष्ठले १ सय १५ मत पाउनु भएको निर्वाचन मण्डलले जनाएको छ ।
उपमहासचिव खुलातर्फ भने किशोर थापाले २ सय ६३ मत सहित जित हासिल गर्नु भएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी दिपक कुमार बर्माले १ सय २९ मत र सोहनलाल यादवले ४५ मत प्राप्त गर्नु भएको छ । एमाले बाँकेको नवौं महाधिवेशन मार्फत सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएको थियो ।
अध्यक्षमा लगायतका पदमा एक भन्दा धेरै उम्मेदवारी परेपछि निर्वाचन भएको थियो । वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले आफनो उम्मेदवारी फिर्ता लिएपछि निरक र डिल्ली बिच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो । कक्षपतिले निरकलाई सार्वजनिक रुपमा समर्थन गर्नु भएको थियो । मतगणना भैरहेको हलको माइक प्रयोग गरेर कक्षपतिले आफनो समर्थन निरक लगायतका व्यक्तिलाई रहेको भनेर अभिव्यक्ति दिएपछि केहि बेर विवाद भएको थियो ।
बाँके एमालेको नयाँ नेतृत्व छनौटका लागि ४ सय ६८ जना प्रतिनिधि मध्ये ४ सय ५८ जनाले मतदान गर्नु भएको थियो ।
जेठ ४ गतेदेखि एमाले बाँकेको जिल्ला अधिवेशन सुरु भएको थियो ।

………..
एमाले बाँकेको नेतृत्व चयनका लागि दोस्रो पटक निर्वाचन भएको हो । यसअघि सातौं अधिवेशनमा पदम धिताल र अशोक कोइरालाबिच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । जसमा कोइरालाले जित हासिल गर्नु भएको थियो ।