टेण्डरमा अनियमितता भएको आरोप
Wednesday, May 22nd, 2024, 11:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ जेठ
नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा फोटो खिच्नको लागि आवहान गरिएको फोटोग्राफी सम्बन्धित टेन्डर प्रक्रियामा अनियमितताको आरोप लागेको छ ।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले प्रकाशन गरेको टेन्डर प्रक्रियामा आफुलाई समावेश हुन नदिएको भन्दैं नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का युवा मनोज नाथ योगीले आरोप लगाएका छन् ।
उनले बुधबार दर्ता गरिएका टेन्डर बदर गर्नको लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी समेत दिएका छन् । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कार्यालय प्रमुख राजु केसीले आफनो टेन्डर दर्ता गर्न नमाने योगीले आरोप लगाएका छन् ।
योगीले उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले गुनासो समाधानको लागि आवश्यक सहयोग गरिदिन पत्राचार गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत राम कुमार सोनकरले हस्ताक्षर गरेको पत्रमा सत्यतथ्य बुझी गुनासो सम्बोधन गर्नको लागि बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति नेपालगन्ज र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ लाई बोधार्थको रुपमा पठाइएको छ ।