कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइनः बैजनाथ र सुब्बाकुनामा जग्गा विवाद कायमै
Tuesday, June 18th, 2024, 6:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ असार
सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद कायमै छ । विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको थियो । अहिलेसम्म विवाद समाधान हुन सकेको छैन । विद्युत लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् ।
त्यसैगरी लाइन विस्तारमा देखिएको विवादबारे कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विशेष चासो दिनुभएको छ । कँडेलले कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानको पहल गर्नुभएको हो ।
विभिन्न चरणमा विभिन्न पक्षसँग उहाँले छलफल समेत चलाउनुभएको छ ।
केही दिनअघि मात्र आयोजना प्रतिनिधिहरूलाई मन्त्रालयमै बोलाएर छलफल गर्नुभएको हो । छलफलमा आयोजना प्रमुख रवि चौधरीले सुर्खेतको सुब्बाकुना, बाँकेको गाभर र निकुन्ज क्षेत्रभित्र भएका समस्याबारे मुख्यमन्त्री कँडेललाई जानकारी गराउनुभएको छ । मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको तर्फबाट सहयोग र थप पहल हुने जनाए । कर्णालीका लागि विद्युत् विस्तार अपरिहार्य भएको भन्दै उहाँले अवरोध हटाउनेतर्फ ध्यान दिन आयोजनालाई आग्रह गर्नुभएको छ ।
कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत प्रसारण लाइन विस्तार कार्य सम्पन्न गर्न निर्माण कम्पनीसगँको सम्झौता म्याद थप गरिएको छ । तोकिएको अवधिमा काम सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रा.लि.ले ७० करोड रूपियाँमा आयोजनाको ठेक्का पाएको थियो ।
जनशक्ति र उपकरण पर्याप्त भए पनि आयोजना निर्माण क्षेत्रमा विवाद हुँदा काम भने गतिमा अगाडि बढ्न सकेको छैन । अहिले म्याद थप गरेर विवाद रहित स्थानमा काम भइरहेको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । उहाँका अनुसार आयोजनाको म्याद गत चैतमा नै सकिएको हो । २०८० चैतमा सकिएको आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको हो ।