‘बाटो बन्द गरेर मेरो परिवारलाई बन्धक बनाइएको छ ’
Tuesday, June 18th, 2024, 9:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ असार
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ निवासी लक्ष्मी शर्माले चलनचल्तीको बाटो बन्द गरेर आफनो परिवारलाई बन्धक बनाएको बताएकी छिन् । मंगलबार पत्रकार सम्मेलन गर्दै शर्माले वेष्टर्न रियल स्टेटका संचालकहरुले आफुलाई बन्धक बनाएको आरोप लगाएकी हुन् ।
चलनचल्तीको बाटो व्यक्तिको नाममा भएका कारण बन्द गरेर आफुलाई मानसिक रुपमा दबाब दिने काम भैरहेको शर्माले बताईन् । उनले भनिन,‘बाटो बन्द गरेर मेरो परिवारलाई बन्धक बनाइएको छ । म मात्र होइन । यहाँ सबै टोलबासी पिडित छौं । रियल स्टेटले जग्गा खरिद बिक्री गर्छ । तर बाटो भने आफनै नाममा राख्ने गरेको छ । यसले गर्दा भविष्यमा सोझा साझा जनताले दुःख पाउनु परेको छ ।’

……….
आफनो घरको दक्षिण तर्फको बाटो वेष्टर्न रियल स्टेटका संचालक कौशल नेपालको नाममा रहेको शर्माले बताईन । त्यतिमात्र नभएर पिच सडक देखि करिब ५ सय मिटर बढी चलनचल्तीको बाटो व्यक्तिको नाममा रहेको उनले बताईन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै शर्माले आफनो घरको अगाडीको बाटो बन्द गरेको भन्दैं कानुनी रुपमा न्याय पाउनको लागि अपिल गर्ने बताएकी छिन् । उनले भनिन,‘म आफनो हक र अधिकारको लागि लड्छु । वडा कार्यालयले चलनचल्तीको बाटो भनेर प्रमाणित गरेको छ । तर मानवियतालाई समेत ख्याल नगरेर बाटो बन्द गरेर मेरो परिवारलाई मानसिक रुपमा दबाब दिने काम भएको छ । यसका विरुद्धमा म आवाज उठाउँछु ।’

……….
गत शनिबारदेखि कौशल नेपालले शर्माको घरको अगाडीको बाटोमा तारबार गरेर आवत–जावतमा अवरोध गरेका छन् । नेपाल वेष्टर्न रियल स्टेटका अध्यक्ष हुन् । नेपालले पुर्व सहमति अनुसार लक्ष्मी शर्माले आफनो घरको अगाडीको जमिनलाई बाटोको रुपमा दिनु पर्ने माग राख्दै आएका छन् । त्यो विषयमा सहमति नभएपछि आफुले आफनो नाममा भएको जमिनमा तारबार गरेको उनले कालपृष्ठ दैनिकलाई बताएका छन् ।

………..
कित्ता नम्बर १३१३ र १३१४ मा लक्ष्मी शर्माको घर र आगन छ । त्यही घरको अगाडीको जमिन बाटोको रुपमा दिनु पर्छ भन्दैं कौशल नेपालले आफुहरुलाई धम्काउने गरेको लक्ष्मीले आरोप लगाईन् । नेपाल लगायतका व्यक्तिले त्यस क्षेत्रमा जग्गा किनबेच गर्ने क्रममा कित्ता नम्बर ११७७ र १२६१ नम्बर बाटोको लागि छुटयाइएको छ । त्यही बाटो गत शनिबार देखी अवरुद्ध गरिएको छ ।
शर्माको घर अगाडीको बाटो बन्द गरिएको घटनामा वेष्टर्न रियल स्टेटको कुनै संलग्नता नभएको वेष्टर्न बिजनेश गु्रपका अध्यक्ष ईश्वरी ज्ञवालीले बताएका छन् । उनले भने,‘लक्ष्मी शर्मा र कौशल नेपाल बिच भैरहेको जग्गाको विवादमा वेष्टर्न रियल स्टेटको कुनै संलग्नता छैन । नेपाल लगायतका साथीहरुले व्यक्तिगत रुपमा त्यहाँ जग्गा किनवेच गर्नु भएको छ । तर रियल स्टेटको कुनै संलग्नता छैन ।’

……….
यसैगरी मंगलबार वेष्टर्न रियल स्टेटका प्रालिका कार्यालय प्रमुख छाया दत्त शर्माले गत आइतबार कालपृष्ठ दैनिकमा प्रकाशित समाचार प्रति आफुहरुलको गम्भिर ध्यानाकर्षण भएको भन्दैं उक्त घटनामा रियल स्टेटको कुनै संलग्नता नभएको बताएका छन् । तर लक्ष्मी शर्माले भने वेष्टर्न रियल स्टेटका संचालकहरुले विभिन्न व्यक्तिको नाममा जग्गा किनवेच गरेर बाटोको विषयमा आफुलाई दबाब दिएको आरोप लगाएकी छिन् ।