सडक मर्मत र सरसफाई गरेर मनाईयो खजुरामा संविधान दिवस
Thursday, September 19th, 2024, 6:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ३ असोज
नवौं संविधान दिवसको अवसरमा बाँकेको खजुरामा सडक मर्मत, सरसफाई तथा वृक्षरोपण कार्यक्रम गरिएको छ । यसवर्ष फरक ढंगले संविधान दिवस मनाउने क्रममा पालिकामा सरसफाई कार्यक्रम तथा सडक मर्मत कार्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले बताउनु भयो ।
बिहिबार बिहानै देखि संविधान दिवसको अवसरमा खजुरा बजारमा सरसफाइ कार्यक्रम गरिएको थियो । त्यसपछि खजुराको पेडारी नालाको पुलको सडक मर्मत गरिएको थियो । पालिकाको डोजर लगाएर बाटो मर्मत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले बताउनु भयो ।
संविधान दिवसको अवसरमा भएको कार्यक्रममा खजुरा क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, कर्मचारी, प्रहरी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

…………
पालिकाले हरेक वर्ष रचनात्मक कार्य गर्दै संविधान दिवस मनाउने क्रममा यस वर्ष सडक मर्मत र सरसफाईलाई जोड दिइएको गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताउनु भयो । आम नागरिकको समस्यालाई सम्बोधन गर्न पालिकाले ध्यान दिइरहेको बताउँदैं संविधान दिवसले नयाँ उत्साह थपेको उहाँले बताउनु भयो ।