प्रेस युनियनद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन
Friday, December 20th, 2024, 9:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ पुस
नेपाल प्रेस युनियन बाँकेले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारी, सदस्य एवम् पार्षदलाई बधाई ज्ञापन गरेको छ । नेपालगन्जमा शुक्रबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके अध्यक्ष नवीन गिरी लगायत युनियनबाट उम्मेदवार भई विजयी हासिल गरेका प्रदेश तथा जिल्लाका पदाधिकारी, सदस्य र केन्द्रिय एवम् प्रदेश पार्षदलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।
बधाई तथा शुभकामना कार्यक्रम प्रेस युनियनका बाँके अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यता तथा प्रेस युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रेम केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै सभापति गौडेलले पत्रकार महासंघको छबि उजिल्याउने गरी काम गर्न आग्रह गरे । उनले पत्रकारिता क्षेत्र बलियो र मजबुत भए मात्र समाज बलियो हुने भन्दै निर्भिक भएर काम गर्न सुझाब दिए । गौडेलले युनियन नेतृत्वको महासंघले राम्रो काम गर्ने विश्वास ब्यक्त गरे । युनियनका बरिष्ठ उपाध्यक्ष केसीले युनियनको शाख बढाउने गरी महासंघमा काम गर्न नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई आग्रह गरे । उनले संगठनमा बसेर अनुशासनहिन काम गर्ने विरुद्ध कडारुपमा प्रस्तुत हुने चेतावनी समेत दिए ।
युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसीले नवनिर्वाचित कार्यसमितिले पत्रकार र मिडियाका पक्षमा राम्रो काम गर्ने विश्वास ब्यक्त गरे । बरिष्ठ पत्रकार एवम् युनियनका अग्रज नेता निरज गौतमले अहिलेको कार्यसमितिबाट सबैले राम्रो कामको अपेक्षा गरेकाले संयमित र निर्धक्क भएर कार्य सम्पादन गर्न आग्रह गरे । पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले पत्रकार महासंघलाई गतिशील बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । बाँके अध्यक्ष गिरीले बाँके शाखालाई नमुनायोग्य बनाउन दृढ इच्छाशक्तिका साथ अविचलित ढंगले काम गर्ने बताए । बाँके शाखालाई पत्रकारहरुको साझा मन्दिरका रुपमा विकास गर्ने उनको कथन छ ।
प्रेस युनियन बाँके अध्यक्ष ढकालले युनियनको तर्फबाट महासंघ प्रतिनिधित्व गरेका पदाधिकारी एवम् सदस्यलाई उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गरे । त्यस क्रममा प्रेस युनियन लुम्बिनी प्रदेश सचिवालय सदस्य गौरब गिरी, युनियनकी पूर्व केन्द्रिय सदस्य उमा थापा मगर, अग्रज नेता रुपन ज्ञवाली, अकोराब केन्द्रिय सदस्य मो. आरिफ अन्सारी लगायतको उपस्थिति थियो । शाखा उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य विक्रम बुढा क्षेत्रीले गरेका थिए ।