नेपालगन्जमा मनाईयो विश्व ध्यान दिवस
Sunday, December 22nd, 2024, 8:34 am
Kalpristha
लोकमाया सुवेदी ‘सुमित्रा’
नेपालगन्ज, ६ पुस
‘विश्वव्यापी सद्भावको लागि आन्तरिक शान्ति’ भन्ने मूल नाराका साथ नेपालगन्जमा शनिबार विश्व ध्यान दिवस मनाइएको छ । योग समिति नेपाल र नेपाल चिकित्सक संघ भेरी शाखाको संयुक्त आयोजनामा सम्पन्न ध्यान दिवसमा ३ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।
विज्ञहरुका अनुसार दैनिक जीवन यापनमा व्यस्तताको कारण हुने आफ्नो शरिरको हेरचाहको लागि समय निकाल्न नसक्नेहरुको लागि योग र ध्यान अत्यन्तै लाभदायी हुन्छ ।
नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष तथा बरिष्ठ हाडजोर्नी विषेशज्ञ डा. बिनोद कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा योग समिति नेपालका अध्यक्ष तथा योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईले मानव जीवनमा योग र ध्यानको महत्वका बारेमा प्रवचन दिनु भएको थियो ।
उहाँले दैनिक जीवनको व्यस्ततालाई एकैछिन मात्र योग र ध्यानमा परिणत गर्न सके दिन सफल हुनुको साथै निरोगी बन्न निक्कै मद्दत पुराउने कुरामा जोड दिनुभयो । योग र ध्यानले गर्दा विभिन्न खालका नसर्ने रोगहरुबाट समेत मुक्ति पाउन सकिने भएकोले दैनिक व्यस्तताबाट योग र ध्यानका लागि समय निकाल्न आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा योग समिती नेपालका योग प्रशिक्षक आजिवन सदस्य, साधारण सदस्य नेपालगन्जका चिकित्सकहरू नेपालगञ्ज कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोविन्द प्रसाद पाण्डेलगायतको सहभागिता रहेको थियो । कार्यक्रम संचालन योग समिती नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गर्नु भएको थियो ।