उप–महानगरपालिकाद्धारा प्रदुषण गर्ने शितला ट्रेडर्सलाई ५ हजार जरिवाना
Saturday, December 28th, 2024, 7:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ पुस
नेपालगन्ज उप–महानगरपालिकाले कवाडी सामान जलाएर प्रदुषण गर्ने शितला ट्रेडर्सलाई कारबाही गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १० औद्योगिक क्षेत्र अगाडि अवस्थित शितला ट्रेडर्सले कवाडी सामान जलाएर प्रदुषण गरेपछि नेपालगन्ज उप–महानगरपालिकाले ॅफोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटी नेतृत्वको टोलीले ट्रेडर्सका सञ्चालक सन्तोष गोडियालाई जरिवाना गराएको हो ।
पत्रकार एवम् नेपालगन्ज ग्लालरीका सञ्चालक समिरमान श्रेष्ठले सामाजिक सञ्जाल (फेसबुक) मा भिडियो पोष्ट गरेपछि नगर प्रहरीले ॅएक्सन’ लिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने तथा प्रदुषण गर्नेहरु विरुद्ध कडा नीति लिएको छ ।
फोहोरमैला ब्यवस्थापनका लागि लामो समय सचेतनात्मक अभियान चलाएको नेपालगन्ज उप–महानगरपालिकाले पछिल्लो समय कानुन बमोजम धमाधम कारबाही गरिरहेको छ ।
नगर प्रमुख प्रशान्त विष्टले फोहोरमैला ब्यवस्थापनका लागि गम्भिरतापूर्वक काम गरिरहेको भन्दै नगरबासीले यो अभियानमा सघाउनुपर्ने बताए । “सुरु सुरुमा हामीले प्रबद्र्धनात्मक कार्यक्रम गर्यौं, अब भने कडारुपमा जानै पर्दछ ।
फोहोरमैलाविरुद्ध शून्य सहनशिलताका साथ हामी अघि बढेका छौं,’’ उनले भने । विष्टले जथाभाबी फोहोर फालेको थाहा पाएमा सचेत नागरिकका हिसाबले जानकारी गराउन आग्रह समेत गरेका छन् ।