संस्थापकको सम्झनामा गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनद्धारा बृहत रक्तदान सम्पन्न
Saturday, December 28th, 2024, 8:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ पुस
सेवा नै धर्म हो भन्ने नारा सहित गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले शनिबार बृहत रक्तदान कार्यक्रम गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको बृहत रक्तदान कार्यक्रममा १ सय २१ जनाले रक्तदान गर्नु भएको थियो ।
संस्थापक अध्यक्ष गौरव शाहको जन्मोत्सवको अवसरमा बृहत रक्तदान गरिएको फाउण्डेशनका संरक्षक प्रदिप शाहले बताउनु भयो । बृहत रक्तदान कार्यक्रमको अवसरमा तिन जना विशेष रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।
समाजसेवी माधव राम बर्मा, गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशन अध्यक्ष मधु शाह, संरक्षक प्रदिप शाह लगायतको अतिथीले विभिन्न क्षेत्रबाट सर्वाधिक रक्तदान गरेर समाजसेवाका क्षेत्रमा महत्वपुर्ण योगदान गर्नु भएका व्यक्तिलाई सम्मान गरिएको थियो ।
१ सय ७६ पटक रक्तदान गरेर लुम्बिनी प्रदेशमा सर्वाधिक रक्तदान गर्ने व्यक्तिका रुपमा चिनिनु भएका गोपीनाथ बैश्य, १ सय २ पटक रक्तदान गरेर पत्रकारिता क्षेत्रमा योगदान गर्नु भएका पवन कुमार जैसवाललाई सम्मान गरिएको थियो । यसैगरी बाँके र बर्दियामा ७६ पटक रक्तदान गर्नु भएकी समाजसेवी सरिता ज्ञवालीलाई पनि सम्मान गरिएको थियो ।

………
यसैगरी गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले शनिबार बेलुका उहाँको जन्मोत्सवको अवसरमा नेपालगन्जको सेतुविक चोकमा दीप प्रज्वलन समेत गरेको छ । आइतबार नेपालगन्जको न्युरोडमा बृक्षारोपण र ट्रिगार्ड राख्ने कार्यक्रम रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले जनाएको छ ।
शनिबार भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस पुरैनी उपशाखाका सभापति शिव कुमार बर्मा, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २का पुर्व अध्यक्ष सुनिल हमाल, लुम्बिनी प्रदेश ओैषधी व्यवसायी संघको वरिष्ठ उपाध्यक्ष अभय बस्नेतले फाउण्डेशनले गरेका सामाजिक कार्यहरुको प्रशंसा गर्नु भएको थियो ।