एनसार्कको ४१औं वार्षिक उत्सव सम्पन्न
Tuesday, December 31st, 2024, 6:50 pm
Kalpristha
रामचन्द्र पौडेल
नेपालगन्ज, १६ पुस
नेपाल यौन रोग तथा एड्स अनुसन्धान केन्द्र(एनसार्क)को ४१औं वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित एनसार्कको कार्यालय साधारण सभा आयोजना गरिएको थियो ।
एनसार्कका संस्थापक अध्यक्ष डा. जिराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा भेरी अस्पताल नेपालगन्जमा मेडिकल सुपरिटेन्डेन्ट निराजन सुवेदी, अतिथीका रुपमा जनस्वास्थ्य कार्यालय बाँकेका स्वास्थ्य प्रमुख अंगत बहादुर शाही, भेरी अस्पतालका एचआइभी फोकल पर्सन डा. संकेत रिसाल, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द लगायतले संस्थाले यौनरोग तथा एचआइभी एड्सको रोकथाम तथा न्युनिकरणको क्षेत्रमा गरेको कामका बारेमा चर्चा गर्नु भएको थियो ।
एनसार्कका संस्थापक अध्यक्ष डा. जिराज शाक्यले स्थापना कालदेखि गरेका संघर्षका कुराहरुको बारेमा चर्चा गर्दै आगामी योजनाको बारेमा बताउनु भएको थियो । एचआइभीको क्षेत्रमा काम गर्ने पश्चिम नेपालको पहिलो संस्था एनसार्क भएको बताउँदैं डा. शाक्यले आगामी दिनमा यस क्षेत्रमा थप प्रभावकारी ढंगले काम गर्ने योजना रहेको बताउनु भयो । संस्थाले अहिले गरिरहेको काम र योजनाको बारेमा एनसार्कका कार्यक्रम संयोजक माजिद अलीले जानकारी गराउनु भएको थियो ।
वार्षिक उत्सव तथा साधारण सभाको अवसरमा एनसार्कको कार्यसमिति रहेक महत्वपुर्ण काम गरेको भन्दैं कार्यकारी सदस्य सुजिता श्रेष्ठ, पिर अलीलाई सम्मान गरिएको थियो । त्यस्तै वर्षभरी उत्कृष्ट कार्य गरेको भन्दैं कर्मचारीको तर्फबाट सृजना थापा, हरि चौधरी, रविन्द्र जोहरी, सोनी कनोजियालाई कार्यक्रमका प्रमुख अतिथी, संस्थापक अध्यक्ष लगायतले सम्मान गर्नु भएको थियो ।
वार्षिक उत्सव तथा साधारण सभामा यौन रोग तथा एचआइभी एड्सको क्षेत्रमा काम गर्ने संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि हुनु भएका अतिथीलाई संस्थापक अध्यक्ष शाक्यले मायाको चिनो प्रदान गर्नु भएको थियो ।
एनसार्कले बाँके जिल्लाको आठै स्थानीय तहमा यौन रोग तथा एचआइभी एड्सको बारेमा जनचेतना जगाउने, रोकथाम तथा न्युनिकरणमा सचेतनामुलुक कार्यक्रमहरु गर्दै आएको छ ।

………….