अटोटेम्पो तथा ई-रिक्सा व्यवस्थापन गर्नुपर्नेमा जोड
Sunday, January 12th, 2025, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ पुस
तराई, मधेश क्षेत्रको सबैभन्दा सर्वसुलभ सवारी साधनको रुपमा अटोटेम्पो तथा ई-रिक्सालाई लिइन्छ । तर हरेक दिनजसो दर्जन बढी ई-रिक्साहरुको दुर्घटना पनि भइरहेको पाइन्छ । अटोटेम्पो तथा ई-रिक्सा व्यवसायी संघका महासचिव कुमार सिंह ठकुरी विभिन्न कारणले बाँके जिल्लामा मात्रै दर्जन बढी ई-रिक्साहरु दुर्घटनामा परेको सुन्नमा आउने गरेको बताउनु भयो ।
बाँके जिल्लाको समग्र अवस्था हेर्ने हो भने कुनै पनि पालिकासँग एकिन अटोटेम्पो तथा ई-रिक्साको तथ्यांक भेटिदैन । सम्बन्धित निकाय बाँके जल्लामा करिब एक हजारभन्दा बढी अटोटेम्पो तथा ई-रिक्सा भएको बताउँछन् । तर अटोटेम्पो टथा ई-रिक्सा व्यवसायी संघसँग भने करिब ३ सय अटोटेम्पो तथा ई-रिक्सा आवद्ध छन् ।
बाँके जिल्लामा अटोटेम्पो तथा ई-रिक्साको व्यवस्थापन सबैभन्दा बढी चुनौतिको विषय बन्दै गएको छ । स्वयम् समन्वय निकाय पनि अटोटेम्पो तथा ई-रिक्सा व्यवस्थापन तथा संचालनमा धेरै समस्या रहेको बताउँछन् । जसमा सबैभन्दा प्रमुख समस्या भनेको अटोटेम्पो तथा ई-रिक्सा चालक अनुमति पत्र एवम् अन्य यस्तै यावत समस्याहरु रहेको शनिबार सम्पन्न अटोटेम्पो तथा ई-रिक्सा व्यवसायी संघको प्रथम साधारण सभा तथा अधिवेशनमा बोल्ने बक्ताहरुले जिकिर गरेका छन् ।
छोटो समयमा आफूलाई सक्रिय बनाउँदै गएको संघले नेपालगन्जमा एक कार्यक्रम गर्दै लुम्बिनी प्रदेशका निवर्तमान मन्त्रीको विशेष उपस्थितिमा प्रथम साधारणसभा प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको थियो ।
साधारण सभा तथा अधिवेशनलाई लुम्बिनी प्रदेश सभा सदस्य एवं निवर्तमान वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले उद्घाटनपश्चात रिक्सा व्यवसायी एवं चालकहरु एकजुट भएर अघि बढ्न अनुरोध गर्नुभयो ।
उहाँले रिक्सा संचालन गर्न पनि थुप्रै चुनौतीहरु रहेको भन्दै सांसद कुर्मीले यसमा आवद्ध व्यक्तिहरु आफुलाई सुरक्षित बनाउनका लागि स्वयं आफैं पनि सजग हुनुपर्नेमा जोड दिनुभयो । ‘पछिल्लो समय नेपालगन्जमा रिक्सा चालक तथा व्यवसायीहरुले आन्दोलन गरेको सुनेको छु ।,’ सांसद कुर्मीले भन्नुभयो, ‘कतिपय कुराहरु नीति नियमभित्र रहनुपर्छ भने कतिपय कुरा अनावश्यक भएको पनि हुन सक्छ, त्यसकारण आन्दोलन भएपछि समस्या समाधान हुन्छ भन्ने पनि हुँदैन, यसका लागि स्थानीय सरकारले पनि आन्दोलन नहोस भन्ने सोच्न जरुरी छ ।’
आफ्नो सामानको सबै कागजपत्र आफूले सुरक्षित राखेपछि आफैंलाई सुरक्षा हुने भन्दै सांसद कुर्मीले व्यवसायीहरु पनि यस्ता कुरामा सबैलाई ध्यान दिन आग्रह गर्नुपर्ने बताउनुभयो । यसका साथै उहाँले बाटोमा अटोरिक्सा संचालन गर्दा सुरक्षालाई ध्यान दिएर चलाउने र अन्यलाई पनि नोक्सानी नहुने गरी सोच्न चालकहरुलाई अनुरोध गर्नुभयो ।
संघका अध्यक्ष धिरज प्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले व्यवसायी संघले सबैको सुरक्षा कसरी हुन्छ त्यसमा ध्यान दिन चालकहरु सिकाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो । उहाँले जिल्लामा अटोरिक्सा संचालन तथा व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्न संघलाई आग्रह गर्नुभयो ।
अध्यक्ष सिंहले प्रशासन कार्यालयले गणेशमान चोकदेखि पुष्पलाल चोकसम्म रिक्सा चल्न नदिने कार्यको बिरोध गर्दै उहाँले पार्किंगको व्यवस्थापन चुनौती रहेको बताउनुभयो । यसका साथै उपमहानगरपालिकामा उपमहानगरपलिकामा दर्ता नविकरण हुन नसकेको भन्दै पछिल्लो समय रिक्सा दुर्घटना बढेको हुँदा बिमासँग जोड्न आवश्यक देखिएको बताउनुभयो ।
संघका महासचिव कुमार सिंह ठकुरीले संघलाई कसरी के गर्ने भन्ने योजनाहरु तय गरिएको भन्दै उहाँले रिक्सा चालकहरुलाई सुरिक्षत बनाउने र व्यवस्थापन गर्ने सवालमा अघि बढ्ने बताउनुभयो । नेपालगन्जमा इरिक्साहरुको संख्या बढ्दै गएकाले यहाँ सबैभन्दा चुनौतीको विषय पनि यही रहेको उल्लेख गर्नुभयो ।
संघका उप-महासचिव एजाज बाबु जोलाहले स्वागत मन्तब्य राख्नुभएको थियो भने कोषाध्यक्ष नरेन्द्र बहादुर चन्दले आर्थिक हिसाबकिताब प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत नरेन्द्र नाथ योगी, चलचित्र पत्रकार संघका बाँकेका अध्यक्ष रामचन्द्र पौडेललगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
पाँच जना रिक्साकर्मीलाई सम्मान
अटोटेम्पो तथा ई-रिक्सा व्यवसायी संघले पाँच जनालाई सम्मान प्रदान गरेको छ । शनिबार नेपालगन्जमा आयोजना गरिएको संघको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा पाँच जनालाई प्रोत्साहनस्वरुप सम्मान गरिएको हो ।

संघले चालक अप्साना खाँ, कमला शाही (विष्ट), कमला गोसाई, मुजिबुद्दिन हलवाई र मक्सुद जसगढलाई प्रोत्साहनस्वरुप जनही एक हजार एक सय रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको थियो । अटो चलाउने एकली मुस्लिम महिला रहेको भन्दै खाँलाई र प्रत्यक्ष अप्रत्यक्ष गरेर २० जना बढीलाई रोजगारी दिएको भन्दै जसगढलाई सम्मान गरिएको उप-महासचिव जोलाहले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य एवं निवर्तमान वन तथा वातावरण मन्त्री बादशाह कुर्मी, नेपालगन्ज वडा नम्बर ९ का वडाअध्यक्ष गोबिन्द प्रसाद रेग्मी तथा कार्यक्रमका अध्यक्ष धिरज प्रताप सिंहले संयुक्तरुपमा सम्मान प्रदान गर्नुभएको थियो ।