सरेन नेपालगन्ज यातायात कार्यालय
Thursday, July 17th, 2025, 7:28 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३२ असार
भाडामा बस्दै आएको यातायात व्यवस्था कार्यालय नेपालगन्ज स्थायी रुपमा व्यवस्थापन हुन सकेको छैन । जिल्लाको सदरमुकाम नेपालगन्जमा यसलाई स्थायी रुपमा व्यवस्थापन गर्न सकिने आधार देखाइएको भएपनि हालसम्म कार्यालयलाई भाडामा बस्न बाध्य बनाइएको हो ।
कार्यालय व्यवस्थापन गर्ने भनेर यसअघि एक कार्यदल बनाएर, व्यवस्थापन गर्न सकिने सम्भावनाको खोजी गरिएको थियो । उक्त कार्यदलले यस कार्यालयलाई स्थायीरुपमा व्यवस्थापन गर्न सकिने आधारसहितको प्रतिवेदन प्रस्तुत गरिसकेको छ । तर कार्यदलले पेश गरेको सम्भावनामाथि नेतृत्वकर्ताले पहल नगर्दा भाडामा बस्दै आएको कार्यालय अब पनि भाडामा बस्नुपर्ने अवस्था कायम भएको छ ।
हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ को बाँके गाउँमा रहेको कार्यालय भाडाको भवनमा संचालन हुँदै आएको छ । कार्यालय त्यहाँ बसेदेखि नै भाडा तिर्दै आएको हो । जबकी सेवाग्राहीका दृष्टिकोणले कार्यालय अपायक ठाउँमा छ । कार्यालय त्यहाँ सर्ने बेला कतिपय सेवाग्राही यस कार्यालयका लागि उक्त ठाउँ अपायक भनेर बिरोध गरेका थिए ।
तर अनन्तः कार्यालयलाई त्यहाँ भाडामा राखेर संचालन गरियो । सोअघि नेपालगन्ज उपमहानरपालिका वडा नम्बर १८ को कारकाँदोस्थित सुर्खेतरोडको एक घरमा कार्यालय संचालन भएको थियो । त्यतिबेला पनि कार्यालय भाडामा संचालन भएपनि सबैका लागि पायक पर्ने ठाउँमा भने रहेको थियो ।
कार्यालयलाई पायक पर्ने ठाउँमा व्यवस्थापन गर्न पहल थालिएको कैयौं महिना भएपनि नेतृत्वको उदासिनताका कारण हुन सकेको छैन । भाडा रहेको कार्यालय फेरि पनि भाडामै बस्नुपर्ने भएको यातायात व्यवस्था कार्यालय नेपालगन्जका प्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो । उहाँले हालसम्म अन्य कुनै ठाउँमा कार्यालय व्यवस्थापन गर्नका लागि निर्देशन नआएको हुँदा पुनः भाडामै बस्नुपर्ने भएको बताउनुभयो ।
कार्यालय व्यवस्थापनका गर्ने भनेर बनाइएको कार्यदलले प्रस्तुत गरेको सुझाव अनुसार सामाजिक विकास डिभिजनको कार्यालय वा सहकारी प्रशिक्षणको कार्यालयमा यातायातलाई सार्नका लागि नेपालगन्जका नगर प्रमुखलाई पटकपटक भनेपनि उहाँले नआत्तिनुस जाउँला जाउँला भनेर भन्नुभएको प्रमुख बुढाथोकीले बताउनुभयो ।
‘कार्यालय सार्नका लागि माथिबाट पनि कुनै निर्णय हामीलाई प्राप्त भएको छैन ।,’ प्रमुख बुढाथोकीले भन्नुभयो, ‘एक सातामा व्यवस्थापन गर्न सकिने भन्ने आश्वसन आयो, तर असार सकिएपनि व्यवस्थापन भएन ।’ कार्यालयलाई स्थायीरुपमा व्यवस्थापन गर्नुपर्छ भनेर नै आफुले मुख्यमन्त्री, मन्त्री र मन्त्रालयका सचिव समक्ष कुरा राखेको पनि उहाँले बताउनुभयो । ‘मुख्यमन्त्रीले यो कुरा क्याबिनेटमा लानुपर्छ भन्नुभयो, मन्त्री र सचिवले पनि त्यही कुरा गर्नुभयो तर क्याबिनेटबाट निर्णय भएको छैन । त्यहाँबाट डिसिजन नहुँदासम्म कार्यालय सार्ने पनि सकिँदैन ।,’ प्रमुख बुढाथोकीले भन्नुभयो ।
प्रमुख बुढाथोकीले मन्त्रीपरिषदबाट निर्णय भएमात्र यहाँबाट कार्यालय सर्ने बताउनुभयो । कार्यालय व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गर्न नेपालगन्ज उपमहानगरपालिकाले गत माघ महिनामै एक कार्यदल बनाएको थियो । नेपालगन्ज वडा नम्बर १ का वडा अध्यक्ष एवं उपमहानरपालिकाका प्रवक्ता प्रमोद रिजालको संयोजकत्वमा रहेको कार्यदलले उपयुक्त स्थानको खोजी गरी सुझावसहितको प्रतिवेदन पनि पेश गरिसकेको छ ।
प्रतिवेदनले हाल रहेको सामाजिक विकास डिभिजन र सहकारी प्रशिक्षणको कार्यालयमा सार्न सकिने सुझाएको थियो । यस कार्यको ढिलाईबारे नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्टले प्रदेश सरकारको निर्णयबाट हुने भएकोले अब करिब एक महिनाभित्र कार्यालय व्यवस्थापन हुने नगर प्रमुख बिष्टले बताउनुभयो ।
हाल कार्यालय रहेको भवन प्रयोग गरेवापत मासिक एक लाखबढी रुपैया घर सरकारी रकम खर्च हुँदै आएको छ । कारकाँदोस्थित डिभिजन वा प्रशिक्षण कार्यालयमा यातायातलाई सार्न सकिए भाडाबापतको सरकारी ढुकुटी जोगाउन सकिन्छ भने छेउँमा रहेको जनकपुर चुरोट कारखानाको १२ कठ्ठा जग्गा पनि प्रयोग गर्न सकिने प्रतिवेदनले सुझाएको छ । उक्त जग्गामा हाल कोहलपुरमा हुँदै आएको ट्रायलको कार्य संचालन गर्न सकिन्छ । साथै प्रतिवेदनले स्थायीरुपमा यातायात कार्यालय भवन निर्माण गर्नका लागि १८ नम्बर वडामै रहेको सोल्टी होटेल नजिकैको सरकारी जग्गाको प्रयोग गर्न सकिने पनि सुझाव पेश गरेको थियो ।